बुधबार, १९ मंसिर, २०८१ 

सामाजिक सञ्जाल र नागरिक पत्रकारिता

 

 

हाल विश्वमा सवै भन्दा बढी संख्यामा निस्कने पत्रिका भनेको जापानको योम्युरी सिम्बुन हो जुन पत्रिका २०१३ वितरणको तथ्याङ्क अनुसार ९६ लाख ९० हजार प्रकाशित हुन्छ । यो संख्या त्यस अघिल्ला बर्षहरुमा करोड भन्दा धेरै रहेको पाईन्छ । तर हामीले अहिले अत्याधिक प्रयोग गर्ने सामाजिक संजाल फेसबुकको हरेक महिना सक्रिय प्रयोगकर्ताको संख्या भने १ अर्व ७१ करोड रहेको गुगलमा उल्लेख रहेको छ ।

 

डिकेश लामा

विश्वको इतिहास हेर्ने हो भने इसापूर्व ५९४ मा एथेन्सबाट प्रेससम्बन्धी कानुनको विकास भएको भन्ने कुरा राजाराम पौड्यालले लेख्नु भएको पत्रकारिता भन्ने पुस्तकमा उल्लेख छ । चाहे त्यो इतिहास जे भए पनि विश्वमा पत्रकारितालाई मर्यादित र सम्मुचित ढंगबाट संचालन गर्न अमेरिकी अखवार सम्पादक समाज सन् १९२३, अन्तराष्ट्रिय पत्रकार महासंघ १९२६, हचिन्स कमिसनको प्रतिवेदन सन् १९४७,स्टकहोम सम्मेलन १९९१, अमेरिकी बाणिज्य सम्पादक र लेखकहरुको संस्था १९९२, व्यवसायिक पत्रकार समाज लगायतले खास गरी प्रेसको मर्यादा र नैतिकताको विषयमा अन्तराष्ट्रिय स्तरमा पत्रकारिता सम्बन्धी आचार संहिता आवश्यकता अनुसार संशोधन गर्दै जारी गर्दै आएको पाईन्छ ।
नेपालमा जंगबहादुर राणाले पहिलो पटक वेलायत भ्रमणमा सकेर वि.सं. १९०८ मा गिद्दे प्रेश भित्रयाएसँगै नेपाली छापा माध्यामको विकास भएको पाईन्छ । तत्कालिन राणा परिवारले विदेशी पाहुना आउँदा पत्रिका पढ्न दिने उद्देश्यले पत्रिका प्रकाशन गरेको भए पनि यसले नेपाली संचार जगतको विजारोपण भने गरेको प्रष्ट हुन्छ । यहाँ किन इतिहासको कुरा गर्न खोजिएको हो भने तत्काल पत्रिका प्रकाशनमा समेत इस्तिहार अर्थात पत्रिकामा के छाप्ने वा के नछाप्ने भन्ने कुराको ‘सनद’ जारी गरिएको थियो । गोरखा पत्र प्रकाशनमा ल्याइएको विनियमले समेत पत्रिकामा के छाप्ने र नछाप्ने भन्ने कुराको स्पष्ट गरेको थियो । चाहे यसले राणाहरुको स्तुती वा वचाऊ नै किन नगरेको होस् । तथापि एउटा न एउटा संहिता वा विनियम विना कुनै पनि पेशा, कार्य सफलरुपमा सम्पन्न हुन सक्दैन भन्ने कुरा यसले प्रष्ट पार्दछ ।

पछिल्लो समयमा आएर नेपाली पत्रकारितामा विषय छनौट देखि आचार संहिता कार्यन्वयनमा समेत ठूलो समस्या देखिएको छ । पत्रकारितामा कपी र पेष्टको प्रणाली दिनानुदिन झाँगिदै गईरहेको छ भने आचारसंहिता विपरित विज्ञापनलाई समाचारको रुपमा प्रकाशन गर्ने कार्य समेत तिव्रतर वढ्दै गएको छ । यसैगरी राजनैतिक झुण्डमा बाँडिएर गठबन्धनीय घेरामा बस्ने परम्पराले पत्रकारहरुले नचाहेर पनि स्तुती गर्न र तथ्य बङ्गाउन बाध्य छन्। राजनैतिक, सामाजिक, धार्मिक, जातीय तथा अन्य साना–साना झुण्डहरुको समेत हस्तक्षेप तिव्रतर छ । यस माथि हामी संचारकर्मीहरु विषय छनौटमा ध्यान नदिई जे पायो त्यही प्रकाशन वा प्रसारणमा धेरै चुकिसकेका छौं । दोष थापेर भए पनि समाचारको लिड वा तथ्य वङ्गाउन पछि परेका छैनौं ।

यता सामाजिक सञ्जालमा जे पायो त्यही कुरा वा विषय जसलाई जतिखेर मन पर्छ त्यतिखेर अपलोड गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल मिडिया हो कि हौइन ? मिडिया हो भने कुनै पनि मिडियाको प्रयोग गरेर के जे पायो त्यही लेख्न पाईन्छ ? सरकारले ल्याएको साईवर अपराध वा इन्टरनेट सम्बन्धीको ऐनमा कुनै पनि प्रकारका हाकिङ, गोपनियता, चोरी, हिंसा, प्रतिलिपी गर्न, गाली गलौज, अपमानसम्बन्धी काम गरेमा प्रष्ट ५० हजार देखि ३ लाखसम्म र ६ महिना देखि ३ बर्षसम्म जेलसजाय वा दुवै हुने स्पष्ट गरेको छ । तथापि किन यस्ता सामाजिक सञ्जालमा हुने हिंसा, अपशव्द, अपमान र गैरजिम्मेवार कुराहरुले कभर गर्छ ? किन ऐन कार्यन्वयन नभएर हो या नेपालको पुलिस, प्रशासनको कम्जोरी हो । एक पटक आफूले आफैलाई प्रश्न गर्न र सोच्न आवश्यक छ ।

एउटा उदाहरण पेश गर्न सान्दर्भिक ठान्दछु कि समाजमा नाङगै हिड्न मिल्दैन । कसले भन्यो मिल्दैन ? तपाईलाई नाङ्गै हिड्यो भने के पुलिसले पक्रन्छ कि अर्काले ढुङुगाले हान्छ ? यदि तपाई समाजमा नाङ्गै हिड्नु हुन्छ भने तपाईलाई पुलिसले पक्रने या कसैले ढुङ्गाले हान्ने भन्दा पनि पहिले तपाई देख्ने मान्छेहरुले कि आँखा छोप्छन् कि तपाईलाई हेरेर थुक्छन् । यदि त्यो कृयाकलाप पनि गरिएन भने यो मान्छे बोलाएछ भन्ने जरुर ठान्दछन् । यो प्रसंग यहाँ किन उठाइएको हो भने आचार संहिता भनेको नैतिकता हो अर्थात नैतिकहीन हुनु भने आफू समाजमा पतन हुनु हो । यसरी जान्दा जान्दै पनि अर्कालाई गाली गर्ने र गिराउने खेलमा आफ्नै लुगा फुकालेर सडकमा हिड्ने काम हामी आफै किन गर्छौ ?

नेपाली पत्रकारिता वा सञ्चार व्यवस्थापनका लागि वि.सं. १९५८ बैशाख ११ सोमबारका दिन गोरखा पत्र पकाशनका लागिका जारी गरिएको सनद देखि हालसम्म दर्जन बढी ऐन तथा विनियमहरु निर्माण तथा संशोधन गरिदै आएको छ । तथापि नेपाली पत्रकारिताको विकास, संरक्षण र प्रगति सकरात्मकता भन्दा पनि बढी नकरात्मकता तिर मोडिदै गएको छ । आखिर किन यस्तो भएको होला ? एउटै मात्र सहज उत्तर दिनु पर्यो भने ऐन र विनियमको घेरामा बसेर आचार संहिता कार्यन्वयनमा आफू अर्थात संचारकर्मीहरु लाग्न जरुरी छ ।

सन् १९०० अन्त्य र २००० सालको शुरुवात तिर आएको अवधारणा सिटीजन जोर्नालिज्म अर्थात नागरिक पत्रकारिताले हरेक नागरिक पत्रकार हुन् जो समाजका लागि सचेत छन् भन्ने अवधारणा ल्याएको छ । त्यसैले सामाजिक सञ्जालमा अपलोड गर्न र प्रतिकृया दिन सक्ने नागरिक भनेको पूर्णरुपमा संचारकर्मी हुन् भन्न सकिन्छ । होला ऊसँग भएको लेख्ने वा पोष्ट गर्ने कला संचारकर्मीमा भन्दा कम तर उसले सामाजिक सञ्जालमा ल्याएको कुरा वा सन्देशले भने कुनै न कुनै ढंग वा तरिकाबाट समाजमा सकरात्मक होस या नकरात्मक प्रभाव भने पारेकै हुन्छ । जसरी एउटा समाचारको प्रभाव अडियन्समा पर्छ, त्यसरी नै एउटा सामान्य नागरिकले कुनै पनि माध्यममा अपलोड या पोष्ट गरेको विषयले कुनै न कुनै तवरबाट समाज वा कुनै व्यक्ति, समूदाय, जाति, बर्ग विशेषलाई प्रभाव पारिरहेको हुन्छ । तसर्थ कुनै पनि कुरा लेख्न वा गर्न भन्दा पहिले कतै मेरो लेख, स्टाटस, भनाइले अरु कसैलाई त प्रभाव वा असर पुराउदैन भनेर सोच्न आवश्यक छ। मानौ कि कुनै पनि एक जना नागरिकले फलना स्थानमा रहेका फलना जातिको घर भनेर थोत्रो केही नभएको वा लड्न लागेको घरको तस्वीर पोष्ट वा प्रकाशन गर्दा त्यो जाति विशेषलाई नदेख्ने वा राम्ररी नजान्नेको मानसिकतामा ती जाती भनेको सवै गरिव हुन्छन् भन्ने लाग्नु स्वाभविक हो वा सँधै शहरमा बस्नेले पहिलो पटक धान फलेको देख्दा आम्मै कति धेरै विया फलेछ भनेर भनेको जस्तो हुन्छ । किनकी उसले शहरमा चामालमा मिसिएर आएको धान देख्दा यो के हो भनेर सोद्दा त्यसलाई विया भनेको उत्तर पाएको हुन्छ । जसको मानसिकतामा विया भनेको धान हो भन्ने कुरा पनि बुझ्नु पर्छ । अझै स्पष्ट भन्ने हो भने चामालमा मिसिएको धानलाई जसरी विया भनेर फालिन्छ तर त्यही वियाबाट चामाल निर्माण भएको हो भन्ने कुरा तमाम सचेत नागरिक अर्थात नागरिक पत्रकारहरुले बुझ्नु पर्छ । पत्रकारिताको नाममा जे पायो त्यही प्रकाशन तथा प्रसारण गर्नुले समाजमा त असर जरुर पुर्याउँछ नै यता पत्रकारिता व्यवसाय प्रति नागरिकको विश्वास समेत घट्दै जान्छ र गईरहेको पनि छ । यसरी नै पत्रकारिताको धर्मलाई विर्सदै जाने हो भने भोलिका दिनमा विकासोन्मुख राष्ट्रका पत्रकारहरुले म पत्रकार हूँ भनेर परिचय दिन समेत अप्ठ्यारो नपर्ला भन्न सकिदैन ।

आचार संहिता भित्रको एउटा कुरा गरौं कि कुनै पनि संचार माध्यमले विभत्स÷अश्लील तस्वीर, भिडियो प्रकाशन तथा प्रसारण गर्न पाईदैन तर हाम्रो पत्रकारिताको कुरा गर्ने हो भने यो धेरै उल्लङ्घन गरेको पाईन्छ । अपराध विटको नाममा विभत्स÷अश्लील तस्विर र भिडियोहरु मिडिया गृहबाट रोकिएका छैनन् । यता सामाजिक सञ्जाल वा नागरिक पत्रकारिताको ठूलो माध्यमको कुरा गर्ने हो भने त अधिकाशं विभत्स तस्वीर र फोटोहरुले ढाकेका हुन्छन् । जसका कारण लाखौं मानिसहरु मानसिकरुपमा पीडित बन्न बाध्य छन् । एउटा सानो कुखुरा काटेको हेर्न नसक्ने मानिसहरुका लागि त यो ठूलो मानसिक रोग भएको छ । अझ स्टाटसमा उल्टै लेखिएको हुन्छ कि यस्तो भयङ्कर दुघर्टना वा हत्या हेरेर पनि तपाईको मन छुदैन भने हाम्रो भन्नु केही छैन । कृपया मृतकको आत्माको शान्तिको लागि भए पनि यसलाई सेयर र लाइक गरौं । हरेक नागरिक पत्रकारहरुले यो सोच्न आवश्यक छ कि त्यस्तो तस्वीर वा भिडियो मन नछुने हौइन कि मन कम्जोर हुनेहरुलाई फोविया रोगले जरुर सताउँछ । यसै प्रसङ्गमा अर्को कुरा अलिक सुन्दर वा सुन्दरीलाई कतैबाट पिक्चर हन्ट गर्न पायो भने तत्काल फलनावाली र वाला भन्ने भाइरस तिव्रतररुपमा बढिरहेको छ । खास पत्रकारिता भित्र कुनै पनि व्यक्ति वा विशेष स्थानको अनुमति विना सार्वजनिक गर्न पाईदैन । तर यहाँ भाइरल बनाइदैछ । यस कुराले हरेक नागरिकले म नागरिक पत्रकार हूँ मेरो स्टाटस वा पोष्ट भएको सामाग्री सार्वजनिक हुँदैछ जुन एउटा संचारमाध्यमबाट हो भन्ने कुरा विर्सनु हुँदैन ।

नागरिक पत्रकारिता भनेको हरेक सचेत नागरिकले इन्टरनेटको प्रयोगबाट संचालित कुनै पनि माध्यमको प्रयोग गरि आफ्ना विचारहरु वा कुनै जानकारी गराउनु हो । संचारविद् जे रोजनका अनुसार कुनै पनि नागरिक संचारमाध्यमबाट प्रकाशित सामाग्रीको ग्रहणकर्ता मात्र हौइन कि उनीहरुले त्यस सामाग्रीलाई कसरी लिन्छन् र अरुलाई कसरी जानकारी गराउछन् भन्ने कुरा पनि हो । हाल विश्वमा सवै भन्दा बढी संख्यामा निस्कने पत्रिका भनेको जापानको योम्युरी सिम्बुन हो जुन पत्रिका २०१३ वितरणको तथ्याङ्क अनुसार ९६ लाख ९० हजार प्रकाशित हुन्छ । यो संख्या त्यस अघिल्ला बर्षहरुमा करोड भन्दा धेरै रहेको पाईन्छ । तर हामीले अहिले अत्याधिक प्रयोग गर्ने सामाजिक संजाल फेसबुकको हरेक महिना सक्रिय प्रयोगकर्ताको संख्या भने १ अर्व ७१ करोड रहेको गुगलमा उल्लेख रहेको छ । यो तथ्याङ्कलाई विश्लेषण गरेर हेर्ने हो भने हामीले अपलोड गरेको कुरा यदि भ्याइरल भएर विश्व भर छरिनु हो भने त्यो चाहे सकरात्मक होस् या नकरात्मक संसारका १० प्रतिशत नागरिक भन्दा धेरैमा पुग्न सक्छ । यो तथ्याङ्क किन पेश गरिएको हो भने हामीले प्रयोग गरिरहेका हरेक विषयबस्तु संसारको सवै भन्दा धेरै प्रकाशित हुने प्रत्रिकाको संख्यामा भन्दा सयौं गुणा धेरै अडियन्समा पुग्न सक्छ भन्ने कुरा विर्सनु हुँदैन । तसर्थ कुनै पनि सामाग्री सेयर गर्नु भनेको संचारको दुनियामा सवैभन्दा लोकप्रीय र तिव्रतर विकास भएको नयाँ माध्यम अनलाईन माध्यममा पोष्ट गर्नु हो । यसर्थ हरेक इन्टर प्रयोगकर्ताहरु नागरिक प्रत्रकार हुन् उनीहरुले यो विर्सनु हुँदैन कि आचार संहिता र नैतिकता भनेको आफूले आफ्नो लागि पालना गर्ने हो । जसको परिणाम आफूले गरेको व्यवहारमा भर पर्दछ । सचेत नागरिकले तोङ्वा तानेको, लागु औषधी प्रयोग गरेको, चुरोट तानेको फोटो हाल्दैनन् किनकी यसको संदेश ग्रहणकर्तामा फरक फरक पर्न जान्छ ।

हामीले यो सोच्न आवाश्यक छ कि हाम्रो घर वा गाऊँमा एक जना मानिस नकरात्मक बाटोमा प्रवेश गर्नु भनेको तपाई, म अनि हाम्रा भावी सन्ततीको भविष्य जोखिममा पर्नु हो । यसको ठीक उल्टो विश्वमा सकरात्मक नाम कमाउने एक जना नागरिक हाम्रो घरमा वा गाऊँमा जन्मनु, हुर्कनु भनेको हाम्रो घर, गाऊँको मात्र नभएर सिंगो राष्ट्रको पहिचान वा इज्वत हो जुन मार्गले धेरैलाई त्यस तर्फ प्रेरित गरिहेको हुन्छ । तसर्थ हामीले भुल्नु हुँदैन कि सकरात्मक सन्देश भावी समाजको सकरात्मक मार्ग हो । For upload once clicking, thousand places blinking अर्थात तपाईको मोवाइल वा कम्पुटरमा एक क्लिक गरेर अपलोड भएको सन्देश (फोटा, भिडिया, अडियो वा शव्द) हजारौं स्थानमा खुलिरहेका हुन्छन् । यसर्थ अर्काको आडी ह्याक गरेर अरुलाई नङ्ग्याउन खोज्ने वा नकरात्मक सन्देश सम्प्रेषण गरेर महान् हुन खोज्नेले यो बुझ्नु आवश्यक छ कि तपाईले अरुलाई विगार्ने होइन, तपाई नासिदैहुनुहुन्छ, तपाईले अरुलाई नङ्ग्याउने हौइन, तपाई स्वयम् नाङ्गिदै हुनुहुन्छ । तपाई कुनै पनि कुरा सम्प्रेषण गर्नुहोस् तर त्यसले समाजमा अरु र आफूलाई के प्रभाव पार्छ भन्ने कुरा सम्प्रेषण गर्नु अघि धेरै पटक सोच्न नविसर्नुहोस् ।

सम्बन्धित समाचार

चिया ऐन बनाउन सभामुख घिमिरेको ध्यानाकर्षण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या...

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।