नमिठो सपना
पहाडको कुना कन्दरा गुञ्जाउँदै भाले बास्यो ।
रामबाबु बिउँझीयो, हिजोको भारी बोकाइले उसको शरिर दुखिरहेको थियो । उसको मन बिहानै अमिलियो आफ्नो जिन्दगी सम्झिएर । मन कटक्क खायो यती ठूलो दुखको पहाड उचाल्दा पनि एकमुठी सुखको सास फेर्न नपाउनुको पिडाले ।
पहाडमा सानो झुपडी छ । शिरमा मैलो गाम्चा, फाटेको चोली र कम्बरमा जसो तसो लाज छोप्ने गुन्यू लगाएकी आमा।
बिहानै पिच्छे लामो लामो खोख्दै चुलोमा आगो बाल्छिन् ।
पेटमा सात महिनाको बच्चा बोकेर एक घण्टाको बाटो पानी ओसार्छीन् श्रीमती चाही । बाँकी दुई छोरी ६ र ७ को उमेरमा स्कूल जान नपाएको अस्तव्यस्त जिन्दगी बाँचिरहेछन् । यस्तै चटारोमा फनफनी घुमीरहेको छ रामबाबुको जीवनको चर्खा ।
रामबाबुले ठूलो सपना कहिले पनि देखेन । देख्ने ठाउँ पनि थिएन होला सायद । यति सम्म सोच्थ्यो भएको परिवारलाई सुविस्ताले पाल्न सकियोस् । सकेसम्म जीवनचर्खा आफ्नो पक्षमा घुमाउन चाहान्थ्यो रामबाबु । तर आफ्नै वेगमा घुमीरहन्थ्यो जीवनचर्खा ।
त्यति नै बेला युद्धको भुमरी फस्यो रामबाबुको देश, त्यो सानो झुपडी पनि अछुतो रहेन । डर त्रास र आतकको पन्जा भित्र छटपटाउन थाल्यो झुपडी पनि ।
तै पनि जीवनको मोह, सुखको चाह बाँचिरह्यो रामबाबुको मनमा । अभावहरुको विचमा कठिनाइहरु सँग पौठेजोडी खेल्दै अगाडी बढी रह्यो । धन सम्पती सुख वैभवको लालसा खासै थिएन उसको । उसको लागि त भएको परिवारलाई जसोतसो खुवाएर बचाउन सक्नु, आफ्नो परिवारमा कुनैपनि विपत्ती नआउनु यति नै लाख थियो ।
तर मान्छेले सोचे जस्तो सहज कहा हुन्छ जीवन बाच्न । हुने भए मान्छेलाई यति दोहोलो पनि हुन्थेन होला ।
समयले नियतीको बज्रपात प्रहार गर्न थाल्यो रामबाबुको जीवनमा । अभावमा वितिरहेको जीवन त्यतिन्जेल सुखी रहन्छ, जतिन्जेल दुखले आक्रमण गर्दैन । तर जव आक्रमण गर्छ , त्यसबाट बच्नको लागि उसँग कुनैपनि उपाया हुदैन । रामबाबुलाई समस्याले चारैतिरबाट घेर्न थाल्यो । उसँग भाग्ने बाटो थिएन । लाचार बनेर सहिरह्यो ।
आमालाई खोकीले झन साह्रो पार्न थाल्यो । औषधी किन्ने पैसा साथमा थिएन । नहुदा त थोरै तिनो रकम पनि कति ठूलो रकम हुदो रहेछ । पहाड जस्तो बोक्न नसकिने, भत्काउन नसकिने । चिसो र दम रोगका कारण आमाले संसार त्यागिन् । आमाको वियोगमा रुदै गर्दा सम्म आमाको मृत्युको कारण दम हो भन्ने पत्तो थिएन, रामबाबुलाई । थाहा हुनु थियो र केही रकम हुनु थियो भने अझै निक्कै बर्ष आमाको माया पाउने थियो उसले, तर पाउन सकेन ।
समयको गति रोकिएको छैन । रोकिएको छैन बज्रपात पनि । कहिले कहाँबाट आएर मुटु चोइटाएर लाने हो अनुमान गर्न गाह्रो छ ।
श्रीमतीलाई प्रसुती वेथा लागेको छ । सन्चो हुन्छ कि भन्ने आशा मात्र छ, तर कुनै छाटकाट छैन नानी जन्मिएला भन्ने । आशाको भरमा बस्न त कठिन छ, तर त्यो भन्दा अर्को उपाया पनि केही छैन ।
श्रीमतीले आँखाभरी जीवनको आशा बोकेर रामबाबुको अनुहार हेरिन् । तर रित्तो थियो रामबाबुको अनुहार जहाँ कुनै सम्भावना थिएन । केही पनि थिएन ।
बेथा लागेको पाचौ दिन । चारवटा दिनहरु कसरी विते भन्न त के कल्पना पनि गाह्रो छ । श्रीमतीले मधुरो स्वरमा भनिन् मेरो हजुर अब म बाँच्दिन होला । हाम्रो छोरीहरुको राम्रो हेरचाह गर्नु । जस्तै दुख परेता पनि उनीहरुलाई पढाउँनु । ज्ञानी बनाउँनु । उनीहरुको वर्तमान र भविष्य हजुरलाई भो । हिजोसम्म उनीहरुको बाबा….. हुनुहुनथ्यो, अबदेखि आमा पनि तपाइ नै…… हुनु है । ए लाटी किन यसो भनेकी.. तिमीलाई केही पनि हुदैन । मलाई एक्लै पारेर तिमीलाई लान सक्दैन ।यसो भन्दा सम्ममा रामबाबुको अनुहार पनि निराशाको कालो बादलले छोपी सकेको थियो ।
खप्न गाह्रो भइरहेको छ उनलाई । फोल्सा फोल्सा रगत बगेता पनि नानी जन्मेको छैन । गाउघरका चेली, सुडेनी सबै लागीपरेका छन् ।
उनी बाँच्न बल गरीहेकी थिइन् । अरुले बचाउन बल गरीरहेका थिए । व्यर्थ भयो, सबै सबै कोषिशहरु । उनको नाडी सिथिल भयो । सदाको लागी उनी निदाइन् । सन्च भइन । फेरिपनि नियतीको झटारो रामबाबुको पुर्पुरोमा बजारियो ।
यो घटना भएको केही बर्ष पछिको कुरा हो । त्यतिवेला रामबाबुले चोटहरु विर्षिएर संघर्ष गर्न सुरुवात गरेको थियो । श्रीमतीले भने जस्तै छोरीहरुको भविष्य उज्यालो बनाउनको लागि आफु दुखको ज्वालामा जलिरहेको थियो ।
भर्खर उज्यालो छिर्दै थियो, रामबाबुको जीवनको झ्यालबाट । खुशीका कलिला मुनाहरु राम्ररी फक्रेका थिएनन् ।
एक साझ छोरीहरु स्कूलबाट फर्किनुभन्दा पहिले एउटा नराम्रो समचार आयो । छोरीहरु बाटोमा अभर परेका छन् अरे । सबै गाउलेहरु भेला भएर त्यहा पुगे । रामबाबुले त्यो दृश्य हेर्न सकेन । न यहा त्यसको वर्णन नै गर्न सकिन्छ । पुरुषहरु नै किन यति साह्रो गिर्नु परेको होला । थुक्क । भेला भएका मान्छेहरु गनगनाउँदै थिए ।
रामबाबु बेहोश भएर ढल्यो ।
ब्यूँझदा अचम्म लाग्यो आफैलाई । किनकी रामबाबु गरिब थिएन । उसका सुसारेहरु भेला भईसकेका । उ त देशको प्रधानमन्त्री रहेछ ।
औ निधारभरी आएको पसिना पुछ्नु भयो प्रधानमन्त्री ज्यूले । चिसो पानी पिउनु भयो । अहो आज मैले कस्तो नमिठो सपना देखे……….भनेर लामो सास फेर्नुभयो ।
यति मात्र लेख्न सकियो ।
त्यो नमिठो सपना जनताहरुले सधै भोगीरहने विपना थियो ,भन्ने कुरा प्रधानमन्त्री ज्यूलाई थाहा भयो कि भएन खै कुन्नी…………….. ।
लेखन – २०६८को एकदिन