कोरोना महामारीले मानिसको दैनिकीमा ल्याएको तरलतासँगै डिजिटल प्रविधिले मानिसहरूको जीवनशैली, कामकाज, सिकाइ तथा सामाजिकीकरणका सम्पूर्ण पद्धतिहरूमा आधारभूत रूपमा परिवर्तन ल्याइदिएको छ ।
मान्छेको दिनचर्या, सिकाई, अर्थतन्त्रजस्ता विषयहरुमा दैनिकी नै परिर्वतन भएभने दैनिक कामकाजहरुपनि प्रविधीमय र डिजिटल बन्दै गएका छन् ।
ज्ञान र सीपको पहुँच
सूचना प्रविधिले मानिसहरूलाई सूचनामा पहुँच स्थापित गराइदिएको छ भने ज्ञानको व्यवस्थापन, नेटवर्किङ, सामाजिक सेवा, औद्योगिक उत्पादनजस्ता जीवनका सम्पूर्ण क्षेत्रमा सुधार गर्ने नयाँ सम्भावनाको दैलो उघारिदिएको छ । तर, डिजिटल प्रविधिहरू, ज्ञान र सीपको पहुँच तथा क्षमताको अभाव भएका राष्ट्र, समुदाय तथा व्यक्तिहरू भने डिजिटलाइज्ड विश्वमा सीमान्तीकरणमा पर्ने तथा विश्वव्यापीकरणका लाभबाट वञ्चित भई झनै पछाडि पर्ने जोखिम बढिरहेको छ ।
विश्वका सरकारहरू तथा अन्तर्राष्ट्रिय संघसस्थाहरूले समेत शिक्षा क्षेत्रमा ठूलो धनराशि खर्च गर्दै आएका छन् । सूचना–प्रविधिको विकाससँगै शिक्षाको क्षेत्रमा पनि नयाँ तथा आधुनिक शिक्षण सिकाइ विधिहरूको प्रयोग हुँदै आएको छ । अनलाइन शिक्षा, दूर शिक्षाजस्ता आधुनिक शिक्षण विधिबाट धेरै मानिसले जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अवसर समेत पाएका छन् । अहिले साक्षरता अर्थात शिक्षा र सूचना–प्रविधि अभिन्न विषय बनिसकेका छन् । सिक्न चाहनेहरूका लागि एक क्लिकमै विश्वभरको सूचना र ज्ञान कम्प्युटर वा मोबाइलकै स्क्रिनमा ल्याउन सम्भव भएको छ ।
एकातर्फ शिक्षामा व्यापारीकरण तथा निजीकरणसँगै औपचारिक शिक्षा महँगो हुँदैछ भने अर्कातर्फ सूचना प्रविधिको विकासले जीवनोपयोगी तथा व्यावहारिक शिक्षा घरमै बसेर अनलाइनमार्फत सिक्न सकिने भएको छ । डिजिटलाइज्ड भएका सञ्चार माध्यमहरू, अनलाइन, सामाजिक सञ्जालहरू, विभिन्न वेबसाइटहरूसमेत सूचना र ज्ञानका निकै भरपर्दा माध्यम बनिरहेका छन्, जसले मानिसहरूमा अत्यावश्यकीय साक्षरता सीपको वृद्धिमा सहयोग पु¥याइरहेका छन् ।
प्रदेश एकका विद्यालयमा डिजिटल शिक्षा
कोरोना महामारीकै विचपनि प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधारकालागि प्रदेशका एक सय विद्यालयबाट डिजिटल शिक्षा अभियानको कार्यान्वयन थालेको छ । गएको असार अन्तिममा डिजिटल शिक्षा अभियान सञ्चालन गर्ने घोषणा गरेको सरकारले प्रदेशका ६४ स्थानीय तहका एक सय विद्यालयमा यो कार्यक्रम सुरु भएको जानकारी दिएको हो । अहिलेको समाज परम्परागत सूचना प्रणालीमा सिमित नरहेको भन्दै आधुनिक र दु्रत सूचना प्रविधि उपयोग तर्फ रुपान्तरण भइरहेकोले डिजिटल शिक्षाको महत्व बढेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई डिजिटल प्रदेश निर्माण गर्ने कामको सुरुवात गर्न कोरोनाको कहरपनि सारथी भएको बताउँछन् । उनी भन्छन्— आजको युग अनुसार डिजिटल प्रविधिलाई सबै क्षेत्रसँग जोडन सरकार क्रियाशिल रहेको छ । ‘डिजिटल शिक्षाको अभियान सरकारले त्यतिकै ल्याएको छैन,’ मुख्यमन्त्री राईले भने ‘आजको युगको आवश्यकता भइसकेको सूचना प्रविधिको विकासको उपयोग गर्न हामी यो कार्यक्रमलाई निरन्तरता दिनेछौं, बिचैमा बन्द हुन्छ कि भन्ने द्विविधा राख्न जरुरी छैन ।’उनले भने ।
प्रदेश एककै सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यालयको शैक्षिक सुधारकालागि अनेकौं तत्वहरुले प्रभाव पार्ने भएकोले त्यसमध्येको डिजिटल साक्षरताको अभियान मार्फत विद्यालय र अभिभावकलाई जोड्न खोजेको बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आजको युगमा कम्प्युटर शिक्षा अत्यन्त जरुरी भएपनि सरकारले कम्प्युटर शिक्षकको नियुक्तितर्फ ध्यान नदिँदा र कोर्षमा कम्प्युटर विषयलाई प्राथमिकतामा नराखेका कारण शिकाइमा समस्या भएको बताउँछन् । उनी भन्छन्— विद्यालयमा कम्पुटर शिक्षक नियुक्त गर्ने अब सबै विद्यालयले आँट गर्नुपर्ने बताउँछन् ।
देशव्यापी अभियान
नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान अघिल्लो जेठबाट सुरु भएको हो । कुल टेक्नो ल्याव एण्ड रिसर्च सेन्टरले यो अभियान देशव्यापीरुपमा सञ्चालन गरेको हो । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियानको शुभारम्भ गरेका थिए । मन्त्री पोखरेलले ‘सेल्फ डिपेन्डेन्ट नेपाल फर टेक्नोलोजी इन एजुकेशन’को राष्ट्रिय सम्मेलन, स्मार्ट स्कुल एप, शैक्षिक समाग्री ट्यावलेटको शुभारम्भ गरेका हुन् । डिजिटल शिक्षाका लागि देशभरका बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको थियो ।
विश्वमा साक्षरताको आयाम
विकसित देशहरूमा साक्षरताको दायरा अझै फराकिलो छ र यसले प्रविधि र क्षमतामार्फत जटिल ज्ञानको कुशल पहुँचलाई जनाउँछ । युनेस्कोको परिभाषालाई आधार मान्ने हो भने साक्षरता भनेको विभिन्न प्रसङ्गलाई चिन्न, बुझ्न, अर्थ बताउन, सिर्जना गर्न, कुराकानी र कम्प्युटर प्रयोग गर्न सक्ने सीप हो ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्कोले यो वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा नै ‘डिजिटल विश्वमा साक्षरता’ भन्ने तय गरेको थियो । युनेस्कोले तय गरेको नयाँ नाराबाटै प्रस्ट हुन्छ कि विश्वव्यापीकरण तथा सूचना प्रविधिको तीव्रतर विकाससँगै विश्वमा साक्षरताको आयाममा पनि परिवर्तन हुँदै गएको छ ।
अब साउँ अक्षर चिन्नु तथा लेखपढ गर्न जान्नुलाई मात्र साक्षर भन्न सकिने अवस्था रहेन । अहिलेको विश्वमा डिजिटल साक्षरता अनिवार्य बनिसकेको छ ।
विश्वका देश तथा देशभित्रकै समुदाय र क्षेत्रहरूका बीचमा प्राविधिक खाडल अर्थात डिजिटल डिभाइड बढ्दै गएको र यसले समुदायहरूमा अनेकन चुनौती थपिरहेको अवस्थामा डिजिटल युगले प्रदान गर्ने अवसरहरूको सदुपयोगका लागि मानिसहरूलाई कस्तो खालको साक्षरता सीप प्रदान गर्ने र कसरी प्रभावकारी साक्षरता नीति र कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने विषय निकै पेचिलो बनिरहेको छ ।
नेपालको अवस्था पछिल्लो आधा शताब्दीमा नेपालको शैक्षिक अवस्थाले ठूलै फड्को मारेको भए पनि अझै एकतिहाई जनसंख्या साक्षरताबाट वञ्चित छ । पछिल्लो जनगणनाको तथ्यांक अनुसार नेपालमा साक्षरता प्रतिशत ६५.९ रहेको छ । एकातर्फ एकतिहाइ मानिस पढ्न–लेख्न नजान्ने छन् भने अर्कातर्फ साक्षरताको सवालमा लैंगिक खाडल भयानक रहेको छ । नेपालमा पुरुष साक्षरता ७५ प्रतिशत रहँदा केवल ५७ प्रतिशत महिला साक्षर रहेको तथ्यांकले देखाउँछ ।
नेपालमा साक्षरता दर मात्र कम होइन, सूचना–प्रविधिमा नागरिकको पहुँच पनि सन्तोषजनक छैन । मोबाइल फोनको घनत्व शतप्रतिशत नाघे पनि इन्टरनेटमा सर्वसाधारणको पहुँच गुणात्मक रूपमा बढ्न सकेको छैन ।
डिजिटल साक्षरता कम भएकैले गर्दा सूचना प्रविधि र अनलाइन सामाजिक सञ्जालहरूको दुरुपयोग हुने गरेको छ । यावत दृष्टान्तहरूलाई मध्यनजर गर्दा नेपालमा आधारभुत साक्षरतासँगै डिजिटल साक्षरता प्रवद्र्धनको विषय अहिलेको ज्वलन्त मुद्दा बन्नु आवश्यक देखिएको छ ।