एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल आबद्द मोहम्मेडन स्पोर्टिङ क्लब आईलिग छनोटको च्याम्पियन बन्दै भारतको शीर्ष डिभिजनको लिग आईलिगमा बढुवा भएको छ ।
आईलिग छनोट अन्तर्गत अन्तिम खेलमा सोमबार बेंगलुरु एफसीसँग गोलरहित बराबरी खेल्दै मोहम्मेडन उपाधि सहित शीर्ष डिभिजनमा बढुवा भएको हो । मोहम्मेडन अपराजित समेत रह्यो ।
कल्याणी रंगशालामा भएको खेलमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् ।
मोहम्मेडन अन्तिम खेलमा पराजित भएको भएपनि शीर्ष डिभिजनमा बढुवा हुने पक्का रहेको थियो । यस अघिको खेलमा भवानीपूरलाई २–० गोल अन्तरले पराजित गरेसँगै मोहम्मेडनले बढुवा पक्का गरेको थियो ।
यस बराबरीसँगै मोहम्मेडनले ४ खेलबाट १० अंक जोड्यो ।
अभिषेक यसै सिजनका लागि मोहम्मेडनमा अनुबन्धित भएका थिए । अब उनले मोहम्मेडनबाट शीर्ष लिग समेत खेल्ने छन् । (एजेन्सी)