पाँचथर। पाँचथरको हिल्लीहाङ् गाउँपालिका चतुरे बजारमा संघीय लिम्बुवान मञ्च, नेपालले अगुवा नेता कार्यकर्ताहरुलाई एक दिने राजनैतिक प्रशिक्षण दिएको छ ।
हिल्लीहाङ् गाउँपालिकाका अगुवा नेताहरुलाई मञ्चको महासचिव संगम खनालले मञ्चको राजनैतिक दर्शनशास्त्र र सांगठानिक संरचनाको बारेमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षामा उक्त गाउँपालिकाका ५० भन्दा धेरै अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला सदस्य कमल सिगु, युवा मञ्चका अध्यक्ष आधार घिमीरे, उपाध्यक्ष गगन जवेगु, एल.भी. कमाण्डर साम्योकहाङ सिगु, जिल्ला नेताहरु हाङ्सा लावती, वजिन लावती, पुष्पहाङ लोवा समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रम हिल्लीहाङ् गाउँपालिका अध्यक्ष चन्द्रकुमार लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको हो ।
संघीय लिम्बुवान मञ्च, नेपाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गतको एक घटक हो । मञ्चले अरुण पूर्वको नौ जिल्ला लिम्बुवान प्रान्त हुनुपर्छ भनेर ढेड दशक अघि देखि निरन्तर राजनैतिक आन्दोलन गरिरहेको छ ।