चुलाचुली, २६ असोज । इलामको चुलाचुली गाउँपालिका – ५ मा आज आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।
केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले उद्घाटन गर्नुभएको हो । सोही ठाउँका स्व. आशा कुमारी राई र स्व. धनबहादुर राईको सम्झनामा परिवारले उपलब्ध गराएको जग्गामा सो केन्द्र निर्माण गरिएको हो ।
परिवारले रु ३० लाख बराबरको दुई रोपनी जग्गा गाउँपालिकालाई उपलब्ध गराएको छोरा संजय राईले जानकारी दिनुभयो । सो जग्गा छोराहरु संजय राई र मिनकुमार राईले उपलब्ध गराउनुभएको थियो ।संघीय सरकारको रु ३० लाख शसर्त अनुदान र गाउँपालिकाको रु ५ लाख गरी ३५ लाखको बजेटमा केन्द्रको भवन निर्माण गरिएको हो ।
गाउँपालिकाले यसअघि वडा नं. १ मा पनि केन्द संचालनमा ल्याईसकेको छ भने वडा नम्बर ४ मा पनि संचालनको तयारी भईरहेकाले गाउँपालिकाको सबै वडामा आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख दुश्यन्त दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले हाल वडा नम्बर ३ को स्वर्गिक मार्ग सामुदायिक भवनमा १५ शैँयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । उक्त अस्पतालमा हाल १ महिलासहित ५ जना उपचाररत रहेका छन् ।