सेसेहाङ फियाक, २०७७ फागुन २९ गते भएको किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्यसमितीको ११औं अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन । य संस्थामा २०५५ मा पाँचथर जिल्ला सचिव, २०७४ मा झापाबाट राष्ट्रिय पार्सद भईसकेका छन् । हाल किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष, लिम्बु भाषा साहित्य प्रतिष्ठानका सचिव, दमक प्रज्ञा प्रतिष्ठानका सदस्य लगायतका संस्थामा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनीसँग समदर्शी अनलाइनले किरात याक्थुङ चुम्लुङको वर्तमान अवस्था र भावी योजना बारेमा गरिएको कुराकानी –
– किरात याक्थुङ चुम्लुङको पृष्ठभूमीबारे बताईदिनुहोस् ?
किरात याक्थुङ चुम्लुङ २०४७ मा स्थापना गरिएको संस्था हो । त्यसयता नियमीत रुपमा संगठन विस्तार, संस्थागत विकास, भाषा सम्बन्धी प्रशिक्षणका कार्यहरु गर्दै आईरहेको छ । लिम्बुवान प्राप्तीको आन्दोलनमा सहभागी हुदै आएको जातिय संस्था हो । यस संस्थाले छैटौं अधिवेशनबाट भूमी सम्बन्धी अधिकार सुनिश्चित गर्ने एजेण्डा पारित गरेपछि लिम्बुवान स्वायतत्ता प्राप्तीका लागि आवज उठाउदै आएको हो । झापा जिल्लाको सवालमा ८ न.पा र ६ गा.पा. गरी १४ वटा स्थानिय तहमा संगटन विस्तार गरेको छ ।
– तपाईले नेतृत्व पाएपश्चात के कस्ता कार्यहरु गर्नुभयो ?
म जिम्मेवारीमा आएपछि लगत्तै झापा जिल्ला कार्यसमितीको आयोजनामा राष्ट्रिय जनगरणा २०७८ संगठन सुदृणीकरण कार्यक्रम सम्पन्न गर्र्यौ । चरणबद्ध रुपमा आन्तरिक संगठन सुदृणीकरण कार्यक्रम सम्पन्न भए । झापा जिल्ला कार्यकमिती र पूर्वाञ्चल दैनिकको सहकार्यमा संचालन भएको भाषा किरात सिरिजङ्गा लिपी मेरो सम्पादकत्वमा निरन्तरता दिएका छौं । विधानमा व्यवस्था भएबमोजिम तहगत सदस्यता वितरणमा तिव्रता आएको छ । चुम्लुङको केन्द्रबाट उपलब्ध भएको पाठ्यक्रम पाठ्यपुस्तक विकासकेन्द्र सानोठिमीमा प्रकाशित लिम्बुभाषा पाठ्यपुस्तक आनीपान (१ कक्षा देखि ६ कक्षा सम्म) को पाठ्यपुस्तक स्थानिय सरकार दमक नगरपालीकाको आर्थिक सहयोगमा लिम्बुभाषाको शिक्षक दरवन्धी कायम गरी लिम्बुभाषा अध्यापन हुदै आएको पृथ्वी मावीमा वितरण गर्नुका साथै सो पाठ्यपुस्तक लिम्बुभाषा पढनपाढन हुने विभिन्न शैक्षिक संस्थामा उपलब्ध गराउँने कार्य गरीरहेका छौं ।
– चुम्लुङको तर्फबाट लिम्बु समुदायलाई शिक्षा, स्वास्थ र राजनैतिक पहुँचमा पुर्याउन के कस्ता अभियान संचालन गर्न सकिन्छ ?
पहिलो कुरा– शिक्षालाई हाम्रो समुदायले फेशन र फ्लेवरको रुपमा मात्र लिएको पाइन्छ । शिक्षासँग मानिसको आर्थिक, राजनैतिक जीवनका पाटाहरु जोडिएका हुन्छन् भन्ने कुरा बुझ्न जरुरी छ । शिक्षा संस्कार, उदेश्य र गन्तव्य सहित निर्धारण गर्नुपर्ने आजको आवश्यकता हो भन्ने जनचेतामुलक कार्यक्रमहरुमा चुम्लुङ सरिक हुनेछ । दोस्रो कुरा– स्वास्थ्य जीवनको अभिन्न अंग हो । अस्वस्थ्यकर जीवनशैली र खानपानले सिङ्गो समुदायमा स्वास्थ्य समस्या छ । यसको सुधारका लागि याक्थुङवाहरुको हितमा चुम्लुङले सचेतनामुलक कार्यक्रम ल्याउने छ । तेस्रो कुरा – नेपालमा अहिले ३ वटा विचारधारामा राजनैतिक धारहरुको विकास भएको छ १.अस्तीत्व र पहिचान सम्बन्धी, २ राज्यसत्ता प्राप्तीका लागि गरिएको राजनीति र ३.जनताको हितमा भौतिक संरचना विकासका लागि गरिने राजनीति । यी ३ वटै राजनैतिक विचारधारामा लिम्बुसमुदायको चासो भएको देखिन्छ । कुन कित्ता सही हो भन्ने नुबुझेका कारण लिम्बु समदाय विभाजीत भएको देखिन्छ । खासगरी अस्तित्व– पहिचान, सास्कृतिक–पुरातात्विक, ऐतिहासिकतासँग जोडिएका मुद्धाहरुमा लिम्बु समुदाय एकताबद्ध भएर उभिन सकेको छैन । यसकारण विभिन्न समयमा राज्यको तर्फबाट सास्कृतिक अतिक्रमण भइरहेको छ । लिम्बुवान, नेवाला, खम्बुवान, खसानका मुद्धाहरु त्यहाँका मुल जातिले नै उठाउने हो तर त्यस विषयमा त्यहाँ बसोबास गर्ने अन्य जातिलाई स्पष्ट गराउन जरुरी छ । त्यो हुन सकेको छैन । लिम्बवानका नेताहरुले लिम्बुवानको विषयमा नबोलेका कारण साम्प्रादायिकताको आरोप लागेको छ । यसमा एकता कायम गदै लिम्बुवानको मुद्धा ससत्तरुपमा उठाउन चुम्लुङ निरन्तर लाग्ने छ ।
– झापाको कमल ५ मा रहेको मदन भण्डारीको नाममा विवादीत भएको आदिवासी रंगशालाको विषयमा चुम्लुङको धारणा के छ ?
आदिवासी रंगशाला प्राप्तीका निम्ति औपचारीक या अनौपचारी जस्तोसुकै कदम चाल्न चुम्लुङ सधै तत्पर छ । आदिवासी रंगशाला निर्माण गर्ने सर्तमा हजारौ आदिवासी पुर्खाहरुको चिहान भत्काइएको छ । अस्तित्व र पहिचान नामेट पार्ने षडयन्त्र पुर्वक दलगत स्वार्थ पुरा गर्नका लागि मदन भण्डारी रंगशाला नाम मुछिएको प्रति हाम्रो घोर भत्र्सना र घोर आपत्ती रहेको थियो, रहेको छ र रही रहने छ । यसका निम्ति जस्तोसुकै कठोर आन्दोलनका लागि चुम्लुङ तयार छ ।
– धर्मका नाममा लिम्बु समुदाय विभाजीत छ नी, त्यसको समन्वय चुम्लुङले गर्छ की गर्दैन ?
लिम्बु समुदाय धार्मिक रुपमा विभाजित हुनु मूल कारण राज्य नै हो । किरात धर्म, युमा साम्यो, प्राकृतिक धर्म लगायतका धर्ममहल निधारण गरी राज्यले पानी धमिलो बनाएको हो । यो हरेक पिछडीएका जातिले बुझ्न जरुरी छ । किरात याक्थुङ चुम्लुङले दोस्रो अधिवेशन मार्फत लिम्बुहरुको धर्म किरात नै हो प्रष्ट निर्णय गरेको छ । युमा, थेवा, मुन्धुम, सत्यहाङमा किरात धर्म भित्रका पन्थहरु हुन् । यस सत्यकुरालाई सद्भावपूर्ण रुपमा स्पष्ट पार्र्दै यी सबै विभाजित विचारधाराहरु एउटै मालामा उन्ने प्रयास चुम्लुङले गर्नेछ ।
– चुम्लुङको भावी कार्य योजना के छ?
आगामी दिनमा निकट भविष्यमा नै १ करोडको अक्षयकोष निर्माण गर्ने चुम्लुङको लक्ष रहेको छ । किनकी अवको युगमा सहयोग चन्दा संकलनले मात्रै संस्था संचालन गर्न सकिदैन । त्यसकारण मूल सावाँ नमासी त्यसको ब्याज वापत प्राप्त रकमले संस्था संचालन गर्ने लक्ष रहेको छ । जसमा झापा जिल्लाका सबै न.पा, गा.पा र वडा कार्यसमितिहरु निहित हुनेछन् ।