क्यासेट प्लेयरको ब्याट्री सकियो । गीत बज्न बन्द भयो । त्यो रमाइलो माहोल एकैछिनमा चकमन्न रातमा परिणत भयो । सन्नाटा छायो । म टह–टह लागि रहेको जूनलाई हेरेर मनमा कुरा खेलाउन थालेँ । अब त्यो रात पूरै प्रकृतिको कब्जामा जान थाल्यो । एक्कासी नजिकै ठूलो वर्षा भएको झैं आवाज कानमा गुञ्जिन थाल्यो । अब निथ्रुक्क भिजिने भैयो भनेर मनमनै आत्मसमर्पण गरेँ । निक्कैबेर सम्ममा पनि हामी सुतेको ठाउँमा त्यो झरी आइपुगेन । म छक्क पर्दै थिएँ । भरै थाहा भयो त्यो झरी नभएर सल्ला सुसाएको रहेछ । जीवनमा पहिलो पटक सल्ला सुसाएको सुनेको थिएँ । बल्ल मन ढुक्क भयो । धन्न झरी परेको होइन रहेछ ।
त्यो रात अविष्मरणीय बन्यो । सल्लाको त्यो सुसाइ हृदयको पानामा अमिट छाप बनेर बसेको छ । सल्ला साह्रै मज्जाले सुसाउँदो रहेछ । त्यो सुसाईले अचम्मको संगीत सिर्जना गर्दो रहेछ । त्यसमा मैले नौलो प्रकारको आनन्द लिन सकेँ । साँच्ची नै प्रकृतिको संगीतमा मन मस्तिष्क हल्का बनाउने शक्ति हुँदो रहेछ । प्रकृतिबाट उत्पन्न हुने संगीतले मानसिक बिरामीहरु निको हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । मानवीय जीवनमा गीत संगीतको महŒव अत्यन्त धेरै छ । संगीत बिना संसार अधुरो छ ।
त्यसपछि म झन–झन प्रकृतिमा लीन हुँदै जान थालेँ । कलकल बगीरहेको खोला । छङ्छङ् गर्दै झरेको झरना । चराचुरुङ्गीहरुको चिरबिर अनि किरा फट्याङ्ग्राको अनेकौं संगीतमय आवाजहरुमा म लिप्त हुनपुगें । बाँसुरी र सारङ्गीको मन रुवाउने धुनहरु सम्झें । जीवनको उकाली–ओरालीहरु अनि हाासो र रोदनका कथा÷व्यथाहरु आँखै अगाडि नाचिरहेको जस्तो महसुस गरें । मैले त्यो रात जीवनको वास्तविक लय नजिकबाट सुन्ने मौका पाएँ । विहान फर्कंदा शरीरमा बेग्लै स्फूर्ति अनुभूत भइरहेको थियो ।
तीनथुम्की डाँडासँग जोडिएको छेपारोको कथा बेग्लै छ । यस डााडाको टुप्पोमा रहेको तीन वटा थुम्कीहरु मध्ये पूर्वतिरको सबैभन्दा छेउको थुम्कीको दक्षिणी पाटोमा एउटा सानो ढुङ्गाको ओढार छ । पानी परेको बेला त्यहाँ एक जना मान्छे ओत लाग्न सकिन्छ । त्यो ओढारको छानो भएर रहेको ढुङ्गा अचम्म तरिकाले फुटेर एउटा चेप बनेको छ । लगभग चौंडाई १० से. मि. लम्बाई १५ से. मि. र उचाई ४ से. मि. जति होला त्यो चेपको । अष्टे«लियाको मरुभूमिमा प्रसस्तै पाइने कङ्गारुको अगाडिपट्टी पेटमा बच्चा राख्ने छालाको गोजी भए जस्तै ढुङ्गा फुटेर गोजी जस्तै बएको थियो । त्यही चेप भित्र छेपारो जस्तै देखिने सानो जीव बस्थे ।
आज भन्दा १७÷१८ वर्ष अघिसम्म । सायद छेपारोकै एउटा प्रजाति हुन सक्छ । खै ! सुरुमा कसले र कहिले देख्यो त्यो चेपभित्रको छेपारालाई । मानिसहरु बीच चर्चा हुने गथ्र्यो ती छेपाराका बारेमा । एकदमै नौलो प्रकारको रङ्गीचङ्गी मसिना छेपारा तीन थुम्कीको टुप्पोमा रहेको ओढारको ढुङ्गाको सानो चेपमा छन् भन्थे । ती छेपारोलाई हेरेर आउनेहरु मध्ये कसैले भन्ने गर्थे मैले चार वटा देखेँ । अनि कसैले भन्थे मैले पाच वटा देखेँ । अनि कसैले भन्ने गर्थे मैले त जति हेर्दा पनि एउटा पनि देखिनँ । अनि कोही भन्ने गर्थे पापीहरुले त देख्न सक्दैन रे ! त्यहाँका छेपारा धर्मीहरुले मात्र देख्न सकिन्छ रे ।
यसरी एक जमानामा छेपारोको खुब चर्चा हुन्थ्यो । तीनथुम्कीमा छेपारो हेर्न जानेको लर्को लाग्थ्यो । अझै रोचक कुरा त ती छेपाराहरु हेर्न सँंगै जानेहरुले पालैपालो चेपभित्र हेर्दा एउटै संख्यामा छेपारा देख्दैन थिए । एउटै रङमा पनि देख्दैन थिए । विभिन्न रङ्गहरुमा र फरक संख्यामा देख्ने गर्थे । कसैले चाहिँ खाली चेप मात्र देख्थे । ठाउँ साँघुरो भएकोले एकै चोटी धेरै जनाले एकै पटक छेपारा हेर्न नमिल्ने । पालो गरेर हेर्नु पर्ने हुन्थ्यो ।