भविष्यमा नै पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ । आसपासमा बासिन्दाहरुको जीवनस्तर उकास्न सकिन्छ ।
अत्याधिक जनसंख्या भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीबाट फाल्गुनन्द मार्ग हुँदै पहाड निस्कँदा शुरुमा माङमालुङ त्यसपछि ढयाङ्गुरे डाँडा भेटिन्छ । ढ्याङ्गुरे डाँडाको नजिकै ऐतिहासिक पहाडी बजार चिसोपानी पञ्चमी छ, जसले स्थानीयहरुको दैनिक उपभोग्य वस्तु, खाद्यान्न लगायत आवश्यकता पूर्ति गर्दछ । ढ्याङ्गुरे डाँडाको चर्चा गर्दा स्थानीय बासिन्दाहरुको चिहानघारीको सम्झना आउँछ । जीवनका कयौं दुःख, पीडा भोगेर चिर निद्रामा परेका पितापुर्खा र अल्पायुमै मृत्युवरण गरेकाहरुको सम्झना एकाएक ताजा बनेर आउँछ । उनीहरुको आत्माको चिर शान्तिको कामना ।
मान्छेहरु बाँचुन्जेल लडाइँ, झगडा गरिन्छ । लोभ, लालचा, इष्र्या र घमण्डको अभिमानमा परिन्छ । मरेपछि ती सबै कुरा व्यर्थ हुन् । शान्त र सालिन भएर चिहानभित्र गाडिएका पुर्खाहरुको अस्थिपञ्जरले हामीलाई मेलमिलापको सन्देश प्रवाह गर्दछ–
के रहेछ र जिन्दगी ? मरेपछि ढुङ्गाको सिरानी, माटोको ओछ्यान र माटोकै ओत त रहेछ नी !
जहाँ न कुनै जात, न कुनै धर्म, न कुनै वर्ग, न कुनै रङ । सबै समान, सबै एकै । लस्करै लमतन्न सुतेका चिहानहरु हेर्दा पलभरमै सबै अभिमानहरु फुङ्ग उडेर जान्छ । लाग्छ, आमाको कोखमा एक थोपा रगतबाट सुरु हुने जिन्दगी चिहानसम्म त रहेछ । मानवीय जीवनको चिहान नै अन्तिम गन्तव्य । यहि हो अन्तिम सत्य । संसारमा छोडेर जाने भनेको असल कर्मको फल रहेछ । लोकले असल नामले सम्झिनु, सम्मान गर्नु सिवाय अरु के लानु छ र जिन्दगीमा । मानव शरीर, पानीको फोका सरह, कतिबेला प्वाट्ट फुट्छ पत्तो हुन्न । त्यसैले, मिलौं, नाचौं, हासौं र हातेमालो गर्दै उन्नतिको बाटोमा लम्किरहौं । अन्तरमनबाट यहि शब्द जोडले गुञ्जन्छ । र टोलाउँछन् आाखाहरु पर क्षितिजमा । जहाँ देखिन्छ– हो मा हो थपेर मुस्कुराउँदै उभिएका अटल हिमालहरु ..।
खै माया र मोह कति बााचेको छ, यो संसारमा । पितापुर्खाप्रतिको सम्झना कति आउँदो हो । आउने भए, नभए पनि वर्षमा एक पटक सन्ततीहरु आउँथे होला पितापुर्खाको समाधिस्थल हेर्न, सफा गर्न र मायाले, श्रद्धाले स्पर्श गर्न । किनकि ढ्याङ्गुरेको लगभग १० प्रतिशत भू–भाग पुर्खाहरुको चिहानले ओगटको छ । जिर्ण छन् चिहान । कुनै भत्केका, कुनै झार जङ्गलले पुरेका अनि कुनै त डोब पनि हराउन लागेका ।
कहाँ पुग्यो होला हिजोका मातृस्नेह, पितृ स्नेह !
नजिकको तिर्थ हेला भने झैं, ढ्याङ्गुरे डाँडामा मलामी आउँदा भएको चहलपहल बाहेक सुनसान हुन्छ । सन्नाटा छाउँछ । तिनै आफन्तहरु पनि सम्भवतः फेरि कहिलै फर्केर चिहानसम्म पनि पुग्दैनन् । ढयाङ्गुरे डाँडासँग जोडिएको अर्को एउटा मार्मिक कथा पनि छ–
ठाकुरदास नामका एक जना तान्त्रिक थिए । सेतै फुलेका लामा–लामा कपाल, पहेँलो फेटा बाँध्ने, सेतै कमिज–सुरुवाल लाएर दुवै काँधबाट झोलाको उजिण्डो छातीसम्म आउने गरी तानेर, उजिण्डोको बीचबाट घङ्गारुको लौरो छिराएर त्यही लौरोको बलले, पिठ्यूँमा झोलाको भारी अड्याएर, छातिका क्रस चिन्न भएर बसेको लौरो दुवैहातले अठ्याएर हिँडिरहेको देख्थें ।