आइतबार, ०६ असार, २०७८ 

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्

व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छैन । यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले खानुपर्ने सबै खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केही खाँदैनन् ।

प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको जलेश्वरका पण्डित कालिकान्त झा बताउँछन् ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव राय भन्छन्, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

वैदेशिक रोजगारमा निखारिएका एक सर्जक

मोरङ जिल्लाको उर्लाबारीमा रहेर साहित्य सिर्जना गरिरहेका छन् दिलिप राई सगर । पछिल्लो समय गीतलेखनमा बढि लगाव दिइरहेको सागरले मलेसियामा रोजगारको लागि पुग्दा बढि साहित्यलाई मलजल गर्न गराउन पाए । मलेसियामा रहँदा केस्रा नामक साहित्यिक...

निरन्ताको पालम ‘लाम्देम्बा मिम्जी’

गायिका निरन्ता नेम्बाङले लकडाउन बाबजुट ‘लाम्देम्बा मिम्जी’ पालम सार्वजनिक गरेकी छिन् । पछिल्लो समयमा लिम्बु समुदायको संस्कृतीमा आधारित पालम, हाक्फारे साम्लो गाएर लोकप्रियता हासिल गर्दै गरेकी नेम्बाङले आफ्नै शब्द र लय संकलनमा पालम सार्वजनिक गरेकी...

चीनदेखि आईपुग्यो ९ लाख खोप, जेठ २५ बाट खोप अभियान सुरु गरिने

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो । बाँकी एक लाख...

जसपा नेपाल प्रदेश १ ले सरकारलाई दियो चुनौती

अध्यादेश मार्फत ल्याएको अािर्थक वर्ष २०७८/०७९ को बजेट अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी प्रदेश १ समितिले प्रेस विज्ञप्ती जारी गरेको हो । विज्ञप्तीमा, असंवैधानिक र स्वेच्छाचारी कदममार्फत केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।