मङ्गलबार, ०४ बैशाख, २०८१ 

३० करोड लगानीमा मनाङका सांसद पोल्देनको स्याउ खेती, यो वर्ष ६ सय टन स्याउ बेच्ने लक्ष्य

मनाङ। ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ। यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ।

हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ। आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ। तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ। गोराहरु उकालो लागे, पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई ‘क्यास’ गर्नबाट मनाङ चुकिरह्यो। छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ, आलु र फापर जस्ता अन्नबालीमा निर्भर रह्यो।

सर्पमा बिख र मान्छेमा इख चाहिन्छ भन्छन्। राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैँ मनाङमा केही गर्न चाहन्थे। उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे। करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुस्साहस नै थियो। परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ।

ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ। २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका संघीय सांसदसमेत रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ। मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो।

बिरुवाहरु इटाली र सर्भियाबाट ल्याइएको थियो। ‘हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन। लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ,’ मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भने, ‘अहिलेसम्म ३० करोड रूपैयाँ लगानी भएको छ। हाम्रो आठ जनाकै परिवार यही फार्ममा संलग्न छौं ।’

उनका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले दुई करोड २४ लाख रूपैयाँ अनुदान दिएको थियो। प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ। बाँकी लगानी  प्रभु बैंकबाट जुटाइएको उनले बताए। स्याउ हरियै छ। करिब साढे दुई महिनापछि स्याउ पाक्छ। फार्ममा रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन्। केही बिरुवा यही वर्ष थपिएको छ।

‘यो पटक ६०० टन उत्पादन होला, मूल्य चाहिँ गुणस्तरअनुसार लिने हो,’ व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भने, ‘बजारको समस्या छैन। कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ।’ स्याउ त सबै ठाउँमा फल्छ विश्व बजारमा निर्यातको सपना पालेका युवराजले दुई हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ को नाममा ‘ब्राण्डिङ’ गरिरहेका छन्।

मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनले बताए। यो स्याउ फार्म एसियाकै ठूलो हो। फार्ममा प्रत्यक्ष २६/२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २२÷२४ जनाले पनि काम पाउने युवराजको भनाइ छ।

फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ। गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा शुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो। (बिचमण्डूबाट)

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।