इलाम- लिम्बूहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बू तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउान थालेका छन् ।
‘धान नाच’ जसले लिम्बूलाई पहिचान दिलायो । समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्यम बनायो, सुखमा होस या दुःखमा । तर, अहिले खुशीयाली र समवेदना बनेर मुहार पुस्तिका (फेसबुक)मा हराउन थालेको छ ।
आधुनिक प्रविधिको सट्टामा मेलापात, हाट बजारसँगै सार्वजनिक ठाउँमा भाका बाँधेर विचार भावनासँगै जीवन र मनका चाहना साट्ने माध्यम, आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने तन्नेरी पुस्ताले सिक्न छाडेपछि लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ पुस्ता हस्तान्तरण नभई लोप हुन थालेको विज्ञहरूको भनाई छ ।
सुख दुःख बाँड्दै जीवन जोड्ने विवाहको माध्यमको रूपमा विकास भएको सांस्कृतिक नाचमा युवा पुस्ताले चासो नदेखाएपछि औपचारिक पर्वमा मात्र सिमित हुन थालेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङ बताउँछन् ।
तन्नेरी पुस्ताले नाच्ने र गाउँने सीप सिक्न छोड्दै गएपछि हराउँदै जान थालेको हो । आपसमा भेटघाट हुँने सार्वजिक स्थल, हाट बजार, मेलापात, विवाह र सुध्याँई कर्ममा समेत सुख दुःख बाँड्न नाचिने नाच अचेल म्यूजिक भिडियो र चलचित्रको पर्दामा मात्र सिमित हुन थालेको उपाध्यक्ष योङहाङको भनाई छ ।
सांस्कृतिक पहिचानको रूपमा लिइने धान नाचसँगै पालामी भाका गाउँने गला र सीपको उत्तिकै आवश्यक छ । गाउँन र नाच्न दुई सीपको आवश्यता भएकोले धान नाचमा युवा पुस्ताले चासो नदिदा बिसँदै गएको किराँत याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको तर्क छ ।
परिचित होस् वा अपरिचित जोसुकैसँग एक अर्काको हात समाएर यो नाच नाच्ने गरिन्छ । एक अर्काको हात समाएर एक कदम अघिपछि गर्दै, गोलो घेरा र तेर्सो लाइनमा कदम मिलाएर नाच्दा गाउँने गीति भाका नै पालाम हो । त्यसैले धान नाच्नेले पालाम गाउँन जान्नु अनिवार्य शर्त हो ।
नाचको कदम भन्दा नाच्दा गाइने पालामलाई बढी महत्व दिने गरिन्छ । पालाम गाउँन भाषा जान्नु पर्ने हुन्छ । भाषासँगै पालाम गाउँन नजानेर तन्नेरी पुस्तामा नाचको मोह भएपनि पुस्ता हस्तान्तरण हुँन नसकेको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक मोहनसिंह थेबे बताउँछन् ।
कृषि युगमा आफूले उत्पादन गरेको अन्न र धानलाई जंगली जीवजन्तुसँगै पंक्षीबाट बचाउन लिम्बू समुदायले विकास गरेको प्रविधि नै कालान्तरमा धाननाचको रूपमा विकास भएको बताइन्छ । फलाएको धान खलामा जम्मा गरेर माड्दै चराचुरूङ्गीबाट बचाउँन र धपाउन हा..हा..को आवाज नै कालान्तरमा धान नाचको पालामी भाकाको रूपमा विकास भएको विज्ञहरूको भनाइ छ ।
धान नाच्दा पालामको भाकामा एक अर्काबिचको मनको भावना र विचार साट्ने गरिन्छ । पालाम प्रश्नोक्तर शैलीमा गाइने भएकोले पालाम गाउँन भाषिक साहित्यको ज्ञान हुन आवश्यक हुने धान नाचसँगै पालामका जानकार बखत आङदेम्बे बताउँछन् ।
धान नाच लिम्बू समुदायको वैवाहिक जीवनसँग अझै नजिक रहेको सांस्कृतिक नाच पनि हो । पछिल्लो तन्नेरीपुस्ता जसरी फेसबुकलाई माध्यम बनाएर वैवाहिक जीवनमा जोडिन्छन्, त्यसरी नै लिम्बू युवाको वैवाहिक जोडी छनौट गर्ने माध्यम धान नाच्न हो । पछिल्ले पुस्ताले यस संस्कृतीलाई छोड्दै गएपछि, विचार भावनामा प्रेमलाप गरेर विवाह बन्धनमा जोडिने संस्कार लिम्बू समुदायमा इतिहास हुने संभावना बढ्दै गएको छ ।