मङ्गलबार, १२ साउन, २०७८ 

तर पनि ‘आइ लभ यु ओली बा’ !

बालुवाटारबाट ‘बा’ले बारम्बार ‘ताजा जनमत’को नाममा जनमतकै अवमूल्यन गरे । सार्वभौम संसदलाई निहीत स्वार्थमा दुई पटकसम्म घाट पुर्याए । उनै ‘बा’लाई बालकोट पुर्याउन २ हजार गाडी र २५ सय मोटरसाइकले स्कटिङ गर्ने केटो महेशहरूको ल्याकत देखियो । महेशहरूको पञ्चे र्यालीभन्दा नारायणहिटीबाट नागार्जुन सर्दा माल्दाइको अघिपछि धेर मान्छे थिए ।

प्रधानन्त्रीको रूपमा अन्तिम सम्बोधन गर्दा केपी बाले भनेका थिए– ‘जनताको जनादेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा आयो । जनताको जनादेशले होईन परमादेशले सरकार छोड्दैछु ।’

लाग्न सक्छ– ‘दुनियाँ मेरै पक्षमा छ । दुनियाँले मलाई नै महान भनेका छन् ।’ सायद भ्रमहरू धेरै समय टिक्दैन भन्ने थाहा छैन । २०६२/६३ को जनआन्दोलन ताकाको त्यो परिघटना याद आयो– राजतन्त्रविरुद्ध सडक दनदनी बलेको थियो । नारायणहिटीमा काजु बदाम खाँदै बसेका ज्ञानेन्द्रले सोधे– कमल बाहिरको अवस्था के छ ? माल्दाइसँग लमतन्न परेर कमल थापा भन्दै थिए– ‘महाराज केही भएको छैन । सबै हाम्रै पकडमा छ । दुई/चार जना हल्ला गर्दैछन् । हुनेवाला केही छैन ।’ कमलको कुरा सुनेर माल्दाइ गमक्क थिए । तर, केही दिनमै लामो इतिहास बोकेको शाही शासन गर्लम्म ढल्यो ।
बालुवाटारमा काजु बदाम खाँदै बसेका ‘बा’लाई महेश, गोकुल र सुर्यहरूले कमल थापाकै शैलीमा उच्काए र बालुवाटारबाट बालकोट पुर्याए । जसरी कमलहरूले माल्दाइलाई नारायणहिटीबाट नागार्जुन पुर्याए ।

ओली ‘बा’ अधिक अहंकारी । भन्दै थिए– ‘‘बन्दुकले ताक्दा नडराएको मान्छे, नाथे अदालतको निणर्यमा म डराउँछु ?’ गल्ती नगर्ने हो भने अदालतसँग डराउनु पर्ने कारण नै हुँदैन । तर, के गर्नु बन्चरो आफ्नै खुट्टामा पर्यो । नपत्याएको खोलाले बगाएर तलै पुर्यायो ।

असार २८ गते न्यायालयले यस्तो बाढी ल्यायो, ‘बा’ बिचरालाई गंगामै पुर्यायो । जहाँ हजारौं ‘बा’हरू अस्तित्व विहीन हुन्छन् । जसरी हजारौं नदीहरू गंगामा पुगेर अस्तित्व गुमाउँछन् ।

‘ओली बा’ अन्तिम सम्बोधनमा भन्दै थिए– ‘अदालतको फैसला अनुचित छ, हाम्रो विरुद्ध छ । संवैधानिक हिसाबले हेर्ने हो भने त्यो उपयुक्त छैन । तर जे भए पनि अदालतको फैसलालाई मानेर हामी अगाडी बढ्छौं ।’ तर, ‘ओली बा’ जस्तो तुक नभएको कोही छैनन् जस्तो लाग्छ ।

अदालतको फैसला मान्ने घोषणा गरेको दुई दिन नबित्दै अदालतविरुद्ध देशभर आन्दोलन गर्ने घोषणा गरे । रमाईलो त के भने, सरकारमा हुँदासम्म असंवैधानिक कदमहरूबाट देश हाँके । सरकारबाट बाहिरिने बेलामा संवैधानिक कदमको ढोङ पिटे ! सम्झदा पनि लाज मात्र लाग्छ !

बर्हिगमनको क्रममा ‘ओली बा’ले भने– ‘फेरि बादल फाटेर सूर्य उदाउनेछ ।’ सूर्य उदाउनु नियमित प्रकृया हो । बादल फाटेर त सूर्यका किरणहरू मात्र पृथ्वीमा आउने हुन् । तर, बादल नै फाटेन भने नि ?

एमालेको अवस्था हेर्दा बादल फाट्ला झै लाग्दैन । बरु, ‘बा’कै कारण एमाले चाहिँ फाट्ने सम्भावना धेरै छ । एमाले नै फाट्यो भने ‘बा’का सपना र उद्घोष नै अलपत्र पर्ने देखिन्छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा झै, पानीजहाज र पूर्व–पश्चिम रेल जस्तै !

सत्ता उन्मादमा ‘ओली बा’ले जे गरे ती सबै अराजकताको प्रतिफल त आउन थालेको छ । अदालतले त सत्ताबाट मात्र गलहत्यायो । गल्तीहरू नसच्याउने हो भने ‘बा’कै प्रिय शब्द ‘जनमत’ले पनि गलहत्याउनेछ । अर्को सुरेश लिङदेनहरू तयार भएर बसेको कुरा ‘बा’लाई कसैले सुनाए हुन्थ्यो ।

ओली ‘बा’लाई याद होस्, ‘बा’विरुद्ध आदिवासी रंगशालाका चिहानहरूमा मोर्चा बन्दैछ, सुकेटाहरू ओसिलो बनिसकेका छन्, मुकुम्लुङ र खुवालुङहरू साच्चिकै ओलीविरुद्ध चट्टानी अडानमा खडा भइसकेका छन् ।

गलत अर्थ नलागोस् । गणतन्त्र संस्थागत गर्ने जिम्मा ओलीलाई दिनु र चोरलाई चाबी सुम्पनु उस्तै भयो । ‘नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो’ भन्ने ओलीको उक्ति बिर्सनु हामी जनताको अन्तिम गल्ती थियो । अब फेरि त्यस्तो गल्ती हुनेछैन । जुन गल्तीले फेरि ओलीहरूको उदय हुनेछ ।

जहाज डुब्दा एक्लै डुब्दैन । जहाजमा भएका सबैलाई सँगै डुबाउँछ । आज ‘बा’ एक्लै डुबेनन्, ‘बा’ले आफुसँगै देश डुबाए, व्यवस्था डुबाए, दुईतिहाइ नजिकको मत डुबाए, अभूतपूर्व कम्युनिष्ट एकता डुबाए । डुबाउन बाँकी त केही छैन ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कुनैबेला भनेका थिए– ‘नेपालको राजनीति यस्तो अवस्थामा छ कि पुरानो पुस्ता मरिसक्यो तर, नयाँ पुस्ता जन्मिन बाँकी नै छ ।’

भट्टराई आज भौतिक दुनियाँमा छैनन् । तर, उनको त्यो भनाइ आज पनि सान्दर्भिक छ । आज काकाहरूको पनि पालो आएको छैन । ‘बा’हरूकै समय छ । अर्थात, ओली बा ! ‘केटो’हरूको गन्ति नै छैन ! तर, पनि ‘आइ लभ यु ओली बा !’

यो पनि हेर्नुहोस

सम्बन्धित समाचार

‘कल्चरल’ गायक जेपी नेम्बाङ

‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ । लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ । पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए...

मरी सकेको सपनाले पुर्न जीवन पायो– निरन्ता नेम्बाङ

गायिका निरन्ता नेम्बाङको चर्चा चुलिँदो छ । उनले २०७६ मा गायनमा डेब्यु गरिन् । पहिलो गीत थियो– ‘माया जालमा परेपछि ।’ जसमा राज आँसु लिम्बुको शब्द रचना एवं उदिम राईको संगीत सुन्न सकिन्छ । नेपाली...

मुस्कुराई रहने गायिका ‘खुशी’

गायिका खुशी थुलुङ राई, आफ्नो जन्म गाउँ सन्दकपुर इलाम छोडेर साँगीतिक धरातलमा भविष्य रोप्न राजधानी छिरेको ७ वर्ष भयो । सन्दकपुरको काखमा नाचेर विताएको बाल्यकालको सम्झना खुब आउँछ उनलाई । सानो छँदाको रुची नृत्यमा थियो...

गर्मीमा सौन्दर्य कायम राख्ने घरेलु उपाय

मानवीय जीवनमा सौन्दर्य अपरिहार्य बन्दै गईरहेको छ । अरुको सामु सुन्दर देखिने सबैको इच्छा हुन्छ । सुन्दरता देखासिखीको लागि मात्र होइन सफल जीवनका लागि पनि अति नै आवश्यक हुने गर्दछ । आकर्षक व्यत्तित्वले आत्मविश्वास जगाउँछ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।