हँसिलो मुहार, मिलनसार व्यक्तित्व व्यवसायी ‘मुकुन्द कँडेल’ को अलग्गै छुट्टिने परिचय हो । गोरखा गहना भण्डार प्रालिका संचालक कँडेलले लगभग एक दशक पुग्न लाग्यो नेपालमा सुन व्यवसाय सुरु गरेको । त्यसअघिको ११ वर्ष उनले सिङ्गापुरमा विताए । काठमाडौंमा व्याचलर पढ्दै गरेका उनलाई १९ वर्षको उमेरमा विदेश जाने हुटहुटी लाग्यो । एकजना उतैबस्ने आफन्तको सहयोगमा नेपाली रुपैया ३ लाख खर्च गरेर सिङ्गापूर हानिए सन् २००४ मा । त्यहाँ होटल म्यानेजमेन्ट सम्बन्धी अध्ययन गर्दै पार्टटाइम जब गरे । सन २०१५ मा उनलाई फेरी नेपालको मायाले स्वदेशमा तान्यो । त्यसपछि उनी निरन्तर नेपालमै व्यवसायरत छन् । एउटा सुन्दर परिवारको साथ जीवन व्यथित गर्दागर्दै गत जेठ ८ गते बुवा कमल बहादुरको स्नेह सदाका लागि गुमाउनु पर्यो । आमा दमन्ताले ५५ वर्षको उमेरमा ममताको छहारी प्रदान गर्दै आएकी छिन् । त्यसमाथी श्रीमती बुनु राय र छोरी सुप्रियाको साथ उनलाई सबैभन्दा प्यारो लाग्छ । प्रस्तुत छ समदर्शी अनलाईनले कँडेलसँग गरेको कुराकानीः
आफुले पुरा गर्न नसकेको इच्छा केही छ ?
– त्यस्तो केही छैन । सायद क्षमता अनुसारको मात्रै इच्छा राख्ने भएर होला । बरु सिङ्गापूरमा हुदा केही इच्छाहरु मारियो । एकसरो कपडाले झन्नै १ वर्ष धानिन्थ्यो ।
तपाईको जीवनमा महत्वपूर्ण लाग्ने तीन कुरा ?
– विशेष ३ वटा मात्रै छैन । मेरा लागि त सबैकुरा महत्वपूर्ण लाग्छ । परिवार, व्यवसाय, आफन्त साथी भाई सबै ।
व्यवसाय गर्नका लागि तपाईको सबल पक्ष ?
– इमान्दारीता, लगनशीलता र धैर्य गर्ने क्षमता ।
व्यवसायीक जीवनमा क्राइसिस खेप्नु परेको दिन छ ?
– अहिले सम्म छैन । हरेक कामका लागि ब्याकअप राख्ने गरेको छु ।
तपाईको व्यवसायीक जीवनको आदर्श ?
सिङ्गापुरमा बस्दा धेरै कुरा सिक्ने मौका पाए । त्यहाँको बोस चकदारसिंलाई म आदर्श व्यक्तिको रुपमा लिन्छु । उनी चियाको कप नउठाउँदा गाली गर्थे तर ठूलो काम नगरेको अवस्थामा बरु रिसाउँदैन दिएँ । ‘ सानो सक्नेकाम तुरुन्त गरीहाल्नु पर्छ ’ भन्ने उनको सिद्धान्त थियो । ‘ सक्ने काम त गर्दैन भने नसक्ने काम के गर्छौ?’ भन्ने गर्थे त्यो मेरा लागि अमुल्य शिक्षा सावित भएको छ ।
सामाजिक कार्यमा कतिको रुची छ ?
एक व्यक्तिका लागि समाज अभिन्न अंग हो । त्यसकारण सामाजिक सेवामा सरिक हुदाँ आनन्द मिल्छ । दमक लखनपुर लायन्स क्लबमा उप–सचिव पदमा रहेर सामाजिक कार्यमा सरिक हुदै आएको छु,साथै लकडाउनको समयमा खाद्यान्न वितरण, स्कूलका नानीहरुलाई कपडा वितरण जस्ता कार्यपनि गर्दै आएका छौं ।
देशका लागि केही गरेको छु जस्तो लाग्छ ?
लाग्छ । स्वदेशमा बसेर व्यवसाय गरेको छु । करिब १० जनाले म बाट रोजगार पाएका छन् । हरेक नेपाली शिक्षित युवाले स्वदेशमा बसेर त्यसरी रोजगारीको सिर्जना गर्ने हो भने वेरोजगारी समस्या धेरै नै समाधान हुन सक्छ ।