दमक/ राष्ट्रिय बिभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको तस्वीर हिन्दु धार्मिक गतिविधिहरुमा अनाधिकृत रुपमा समावेश गरिदै आएको प्रति त्यस सम्बद्ध धार्मिक संस्थाहरुको ध्यान आकर्षण भएको छ ।
लोकतान्त्रिक आन्दोलन २०६२ र ०६३ को उपलब्धी स्वरुप २०७२ साल असोज ३ गते मुलुक धर्मनिरपेक्ष राष्ट्रिय घोषणा भई सकेको अवस्थामा पुनः मुलुकभर हिन्दु धर्म तथा राजसंस्थाको पक्षमा जनप्रर्दशन हुदैआएको र त्यस्ता प्रदर्शनमा किरात धर्मका महागुरुको समेत तस्वीर समावेश गरि दुरुपयोग गरिएकोमा सम्बद्ध धार्मिक संस्थाहरुको ध्यान आकर्षण भएको हो ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले विज्ञप्तिमार्फत हाल मुलुकमा स्थापित संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र मुलुकको समृद्धि , शान्ति र अमनचयन नचाहने केही प्रतिक्रियाबादी अति हिन्दुबादी तत्वहरूले मुलुकलाई हिन्दुराष्ट्र कायम गर्न र धर्म निरपेक्षताको संबैधानिक ब्यबस्थालाई खारेज गर्न माग गर्दै आएको सनातन संस्कृति समाज नेपालको केन्द्रिय समितिलाई किरात धर्मदर्शनका प्रवर्तक एवं राष्ट्रिय बिभूति महागुरुको तस्वीर दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
धर्म निरपेक्षताको संबैधानिक ब्यबस्था स्थापित हुनुमा किरात धर्मका अनुनायीहरुको पनि महत्वपूर्ण योगदान रहेकाले त्यस विरुद्धको गतिविधि किरात धर्मावलम्बीहरुलाई मान्य नहुने र हिन्दु धर्मका ब्यानरबाट महागुरु फाल्गुनन्दको तस्बीर तत्काल नहटाएमा कानुनी प्रक्रिया अपनाउन बाँध्य हुनुपर्ने समेत संघद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
राप्रपाले केहिदिन अघि झापामा हिन्दु राष्ट्र कायम गर्न माग राख्दै गरेको शक्ति प्रर्दशनको व्यानरमा महागुरुको तस्वीर दुरुपयोग गरेको पाईएपछि संघले सार्वजनिक रुपमा आपत्ति जनाएको हो ।