
दमक/ दमक १ स्थित हिमाञ्चल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं वार्षिक उत्सव र साधारण सभा एवं चौथो अधिवेशन कार्यक्रम एक औपचारिक समारोह गरी एकै पटक सम्पन्न गरेको छ । नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण तथा बधाई शुभकामना कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको छ ।
दमक १ मा हिमाञ्चल साकोसले १२ औं बार्षिक उत्सव/साधारण सभा तथा चौथो अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समिति, लेखा सुरपरिवेक्षण समितिको सपथ ग्रहण गराइएको छ ।
दमकमा रहेको आफ्नै सभाहलमा परिसरमा संस्थाका अध्यक्ष बुद्ध प्रसाद पाण्डेको अध्यक्षता र जिल्ला बचत संघमा उपाध्यक्ष समेत रहेका प्रेम कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, आफ्नै जेष्ठ शेयर सदस्य पूर्णबहादुर राईको विशेष आतिथ्य रहेको थियो ।

आजै सम्पन्न भएको चौथो अधिवेशनबाट हिमालय उच्च मा.वि.का शिक्षक बाल कुमार रेग्मीको संयोजक, स्तम्भकार/समासेवी नरपती पाण्डे र सहकारीकर्मी अरुना राई रहेको तीन सदस्यीय निर्वाचन समितीले चौथो कार्यकालका लागि पुन बुद्ध प्रसाद पाण्डे निर्वाचित गरेको हो ।त्यसैगरी उपाध्यक्षमा भीम बहादुर बस्नेत र सदस्यहरुमा दिन दयाल अग्रवाल, माया दाहाल, राजेस कुमार अग्रवाल, हरी माया कुँवर र दिपेन्द्र तिम्सीनालाई निर्वाचित गरेको छ । यस्तै, रवीन कुवर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति पनि निर्विरोध निर्वाचित भएका हुन् । लेखा सदस्यद्धयमा उमेश ठोक्रेल र कुसुम ढुङ्गेल चुनिएका छन ।
वार्षिक उत्सवका अवसरमा २४ जना उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरेको थियो ।
१४ सय ४० शेयर सदस्य भएको यस संस्थाको वासलात १३ करोड रहेको छ । यो गत आर्थिक वर्षको तुलनामा ७५ प्रतिशतले बृद्धि भएको अध्यक्ष पाण्डेले जानकारी दिए । शेयर पुँजी १ करोड ३ लाख रहेको छ । १० लाख जगेडा कोष भएको संस्थाले ९ करोड ८७ लाख कर्जा लगानी गरेको छ ।
चौथो कार्यकालको नेत्तृत्व लिएका अध्यक्ष पाण्डेले आफ्नो योजना सुनाउँदै भने–‘‘यो कार्यकालमा दमक १, मा आफ्नै भवन निर्माण गर्ने, दमक नगरपालिका भरी कार्यक्षेत्र रहेको यस संस्थाको कार्यक्षेत्र विस्तार गरेर मोरङको इटहरा, उर्लाबारी, पथरी र इटहरामा सेवा केन्द्र स्थापना गर्ने लक्ष राखेका छौं ।’’
