काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा तिन हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस मिटमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा तीन हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १९६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२० जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ हजार ७७९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७८ जनाको भेन्टिलेटरमा र २७३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९.४ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले झापा, मोरङ, सुनसरी, काभ्रेपलानचोक, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, चितवन, कास्की, भक्तपुर, दाङ, बाके कैलाली र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने शुन्य संक्रमित जिल्ला मुस्ताङ रहेको छ ।