शुक्रबार, ०८ असोज, २०७८ 

पदचाप भुल्दाको परिणाम भोग्दै माओवादी

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अस्तित्व रक्षाको संकटमा छ । वर्तमान व्यवस्थाका हिमायती माओवादी संकटमा पर्नु सुखद् होइन । माओवादी संकटमा पर्दा ‘जसको नीति उसैको नेतृत्व’ भन्ने मान्यता धर्मरायो । माओवादी कमजोर हुँदा व्यवस्था संकटमा छ ।

माओवादी नेतृत्वमा सम्पन्न १० वर्षे जनयुद्धबारे अनेक दृष्टिकोण छन् । यसका सकारात्मक र नकारात्मक दुवै कोणबाट बहस भएका छन् । जसले जसरी व्याख्या गरेपनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व जनयुद्धकै उपलब्धी हो । अर्थात, माओवादीकै एजेण्डा हो, माओवादीकै नीति हो । तर, माओवादीको नीतिमा अरुले नै नेतृत्व लिए । त्यसैले माओवादी अस्तित्व संकटमा छ ।

शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दैगर्दा जनताले माओवादीसँग अनेक अपेक्षा राखे । २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनले पुष्टि गर्छ । जसको नीति, उसैको नेतृत्व भन्ने मान्यतामा जनताले सबैभन्दा ठूलो पार्टी बनाए । तर, जनमतको बलमा जनताकै लागि काम गर्ने ल्याकत माओवादीसँग भएन । त्यसको परिणाम ०७० को आम निर्वाचनमा देखियो । ०७४ मा झनै पुष्टि भयो । त्यहाँबाट माओवादीले शक्ति संकट झेल्न थाल्यो ।

व्यवस्था नै परिवर्तन गर्ने ल्याकत राख्ने माओवादी यति छिट्टै धर्मराउँछ भन्ने अनुमान पनि थिएन । तर, परिस्थितिले त्यो ठाउँमा पुर्यायो । जहाँ, अरुको सहाराबिना माओवादीको केही चल्दैन । जंगलबाट बाघको रुपमा शहर पसेको माओवादी स्यालजस्तै भयो । माओवादी अस्तित्व संकटमा पर्नुका अनेक कारण छन् । मुख्य कारण माओवादी आफैँ हो ।

संसदीय अभ्यासको पहिलो ‘इनिङ’मै माओवादीले अनपेक्षित जनमत पायो । त्यो जनमतलाई अवसरको रुपमा सदुपयोग गर्न सकेन । उन्मादमा परिणत भयो । देश माओवादीमय बन्दा नेता कार्यकर्तामा छाएको उन्मादको परिणाम ०७० को निर्चानमा देखियो । त्यो हार नै ‘माओवादी करेक्सन’को विन्दु थियो ।

तर, माओवादी आफूलाई करेक्सन गर्न तयार भएन । बरु, सम्झौता र साझेदारीमा भविष्य देख्न थाल्यो । सम्झौतामा आधारित साझेदारीका क्रममा पुछ«ेताराकै गतीमा माओवादी ओरालो लाग्यो । त्यो क्रममा माओवादीले सारा मुद्धाहरु एकपछि अर्को गर्दै छोड्यो ।

आज माओवादीसँग न नीति छ, न कार्यक्रम नै । लक्ष्यहीन यात्रामा निस्केको यात्री चौबाटोमा पुगेपछि कता जाने ? भनेर अलमलमा परेझैँ माओवादी अलमलमा छ । यस्तो अवस्थामा दुई विकल्प हुन्छन् । एक, पुरानै बाटो फर्कने । अर्को, नयाँ बाटो रोज्ने । तर, माओवादी पछाडि फर्कन सक्दैन । नयाँ बाटो रोजेर नयाँ गन्तव्य तय गर्न पनि सकिरहेको छैन । यसका अनेक कारण छन् ।

विश्व कम्युनिष्ट आन्दोलनमा माओवादी प्रयोग विभिन्न थियो । मुलतः कम्युनिष्ट वर्गीय मुक्तिमा विश्वास गर्छन् । वर्गीय मुक्ति भए सारा समस्याहरु हल हुन्छन् भन्ने मान्यता हो । तर, माओवादी आन्दोलननले जनमुक्तिको सवाललाई ‘विशिष्टीकृत’ गरिदियो । जाति, क्षेत्र र लिंगको आधारमा माओवादीले मुक्तिको बाटो समात्यो । कम्युनिष्ट शक्ति माओवादीकै नेतृत्वमा जातिय मुक्ति आन्दोलन भयो । क्षेत्रिय उत्पीडनविरुद्ध विद्रोह भयो । लिंगीय विभेदविरुद्ध संघर्ष भयो । त्यसैको बलमा माओवादी शक्तिशाली बन्यो । तर, आज ? यी सबै सवालहरु अलपत्र छन् । माओवादी संकटमा यो पाटो महत्वपूर्ण मानिन्छ ।

जातीय, क्षेत्रीय र लिङ्गीय विद्रोहको बलमा जनयुद्ध शक्तिशाली भयो । प्रयोगको दृष्टिकोणमा माओवादी सफल मानियो । तर, माओवादी सत्तामा पुगेपछि यी मुद्धाहरु अलपत्र भए । आफ्नो धरातलमाथि माओवादीमा घृणाभाव पैदा हुँदै जाँदा शक्तिहीन बन्दै गयो । आफैँले स्थापित गरेको मुद्धा छोड्नुको परिणाम थियो ०७० को सर्वनाक हार । त्यो हारपछि माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए– ‘आदिवासी जनजातिबाट धोका भयो ।’ तर, त्यो धोका थिएन । थियो त, सजाय । धोका दिएपछि पाउने त सजाय नै हो । यसका केही आधार छन् ।

शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीले १४ वटा राज्यहरु घोषणा गरेको थियो । जहाँ, लिम्बुवान, किरात, तमूवान जस्ता जातिसँग सम्बन्ध राख्ने ऐतिहासिक भौगोलिक आधारहरु प्रस्तुत गरिएका थिए । तर, ती पदचापहरु माओवादी आफैँले मेट्यो । माओवादी नेताकै नेतृत्वमा जातीय मुक्ति आन्दोलनविरुद्ध प्रतिक्रान्ति भयो ।

तत्कालीन माओवादी नेता लेखराज भट्टहरुले त्यसको नेतृत्व गरे । प्रचण्डले मौन समर्थन गरे । ०७० मा व्यहोरेको हारको बदलाका रुपमा प्रचण्डले जातीय मुक्ति आन्दोलनविरुद्ध भएका गतिविधि स्वीकारे । माओवादीबाट भएको त्यो ठूलो गल्ती थियो । २०६४ कै अवस्थामा फर्कन नसके माओवादी पार्टी रहेसम्म सोही गल्तीले पिरोल्छ ।

शसस्त्र विद्रोहबाट स्थापित शक्ति यति छिट्टै संसदीय दलदलमा फस्छ भन्ने अलिकति पनि अपेक्षा थिएन । तर, माओवादी यस्तो पार्टी बन्यो, जुन पार्टीले पुराना संसदवादी शक्तिलाई पनि पछि पार्यो । निष्पक्षताको विन्दुमा उभिएर भन्दा माओवादीले आफ्नो वर्ग भूलेर दलाल पुँजीवादका प्रतिनिधिसँग नाता गाँस्यो ।

माओवादीकै काँधमा बन्दुक राखेर दलाल पुँजीपतिहरुले आधारभूत श्रमजीवि वर्गविरुद्ध फायर चलाइरहेका छन् । माओवादीकै काँधबाट माओवादीले नै ल्याएको व्यवस्थाविरुद्ध प्रहार गरिरहेका छन् । त्यसैको चपेटामा माओवादी शक्ति कमजोर भएको हो । माओवादी अस्तित्व संकटमा छ भन्नुको अर्थ यो नै हो ।

माओवादी नेतृत्वमा माओवादी आन्दोलनबारे ठूलो लघुताभाष छ । गर्व गर्न लायक इतिहास बोकेको जनयुद्ध र त्यो जनयुद्धको नेतृत्व विचार माओवादबारे नै ठूलो वितृष्णा छ । ‘माओवादी भन्ने शब्द नै जनताले रुचाएनन्’ भन्ने मनोभाव पैदा हुनुजस्तो विचलन अरु हुँदैन । यो विचलनको पुष्टि पछिल्लो केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले पनि गर्छ । जहाँ, समाजवादी प्रकृतिको पार्टी बनाउने मुद्धाले ठाउँ पाएको छ ।

माओवादी नेतृत्वलाई हेक्का नभएको के हो भने माओवादी भएकै कारण जनमत गुमाउँदै गएको नभइ, माओवादी भएर उठाएका मुद्धा छोडेर आउँदा जनविश्वास गुम्दै गएको हो । नेतृत्वमा आएको यो विचलनले माओवादी आन्दोलनका लाखौैँ नेता कार्यकर्ता र समर्थक शुभेच्छुकमा ठूलो निराशा र आक्रोस पैदा हुनेछ । यसको परिणाम अर्को निर्वाचनमा माओवादीले भोग्नुपर्ने हुन्छ ।

कम्युनिष्ट पार्टी क्याडर अर्थात संगठित कार्यकर्तामा आधारित हुन्छ । संगठित कार्यकर्ता कम्युनिष्ट विचार र सिद्धान्तमा प्रतिवद्ध हुन्छन् । फलामे अनुशासनमा रहन्छन् । उनै क्याडरबाट बनेको संगठनमा पार्टी निर्भर हुन्छ । तर, माओवादी यो सवालमा सबैभन्दा कमजोर छ । पहिलो कुरा संगठित कार्यकर्ताको संख्या घट्दै गएको छ । भएका कार्यकर्ताले पनि विचलनको हद नाघिसकेका छन् । यस्तो अवस्थामा कम्युनिष्ट पार्टी बलियो हुँदैन । माओवादी संकटको अर्को महत्वपूर्ण कारण यो पनि हो ।

समग्रमा भन्दा माओवादीसँग अहिले विचार र संगठन दुवै छैन । माओवादीको अवस्था बुर्जुवा वा पुँजीवादी भनिएका शक्तिभन्दा पनि कमजोर छ । त्यसैले अरुको दाउमा च्याँखे थाप्नुपर्ने अवस्थामा माओवादी पुग्यो । २०६४ जनमतलाई सम्मान गर्दै काम गरेको भए आज देश माओवादीकै नेतृत्वमा हुन्थ्यो । आफ्नो नीतिको नेतृत्व माओवादी आफँैले गर्ने थियो ।

संकटको अन्तिम विन्दुबाट फर्कन माओवादीसँग एकमात्र विकल्प छ । त्यो ‘करेक्सन’ हो । आफूलाई करेक्सन गर्दै पछाडि फर्के गलत हुँदैन । करेक्सनको विन्दुबाट नयाँ यात्रा तय गरे पनि फरक पर्दैन । तर, आफ्ना आधार मुद्धाबारे सचेत हुनुपर्छ । पछाडि फर्केर छोडिएका मुद्धाहरु सम्हाले ठूलो तप्का माओवादीको साथमा रहनेछन् । त्यो आवश्यक पनि हो ।

राजनीतिक मुद्धा उठान गरेपछि त्यसको समुचित बैठान अपरिहार्य हुन्छ । नत्र यसले विग्रह निम्त्याउँछ । त्यसैले माओवादी पछाडि फर्कन आवश्यक छ भनिएको हो । माओवादी आचरणमा व्यापक ‘करेक्सन’ आवश्यक छ । जातीय, क्षेत्रीय र लैंगिक मुद्धाहरु समुचित रुपमा व्यवस्थापन गर्दै करेक्सन हुने माओवादीका लागि अबको बाटो हो ।

कोर्ष करेक्सनको विन्दुबाट माओवादीले नयाँ यात्रा तय गर्न सक्छ । प्रचण्डले प्रस्ताव गरेझैँ समाजवादी प्रकृतिको राजनीतिक शक्ति नयाँ यात्राको माध्यम होला ! त्यो यात्रामा अन्य कम्युनिष्ट शक्ति पनि सहयात्राका लागि तयार हुनसक्छन् । तर, नयाँ यात्रा तय गर्दा ‘हिँड्दै जाने, पाइला मेट्दै जाने’ प्रवृत्ति यथावत रहे माओवादी नयाँ यात्रामा सफल हुँदैन ।

छोडेका मुद्धाहरुलाई क्रान्तिका बाँकी कार्यभारको रुपमा अंगाल्दै नयाँ यात्रा तय गर्नुपर्ने हुन्छ । जसका लागि पुराना मुद्धाहरुलाई नयाँ विचारबाट सम्बोधन गर्दै जाने नीति तय हुनुपर्छ । माओवादी त्यसका लागि तयार छ त ? भन्ने प्रश्न मुख्य हो । तर, माओवादीसँग त्योभन्दा अरु विकल्प हुन सक्दैन ।

सम्बन्धित समाचार

फाल्गुनन्द साकोसको अध्यक्षमा पुन: लिङ्देन निर्वाचित

दमक । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थ लि. को अध्यक्षमा पुन: संकल्प लिङ्देन (पदम) निर्वाचित भएका छन । दमकको कास्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न १० औ साधारण सभा पछि नया नेतृत्वको लागि अध्यक्ष र...

भ्रामक र तथ्यहिन प्रचारका पछि नलाग्न शेयर सदस्यलाई अध्यक्ष लिङ्देनको अपिल

  दमक, ६ असोज /  दमकको पुरानो तथा चर्चित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभाबाट नेतृत्व छनौट गर्ने तयारीमा जुटेको छ । संस्थाले सहमतिमा नेतृत्व छान्ने कसरत गरेपनि सहमति जुट्न सकेको छैन...

पैसाकै कारण ललितपुरबाट पक्राउ परे ३२ वर्षीय हिरालाल

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन...

अलैंची पाकेपछि लमजुङका किसानलाई छोडाउन र सुकाउनको चटारो, अलैंची खेलिबाटै १८ करोड २० लाख गरे आम्दानी

एजेन्सी-चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् । विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिशाले यस्तो...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।