सोमबार, ०८ कार्तिक, २०७८ 

वैदेशिक रोजगारमा निखारिएका एक सर्जक

मोरङ जिल्लाको उर्लाबारीमा रहेर साहित्य सिर्जना गरिरहेका छन् दिलिप राई सगर । पछिल्लो समय गीतलेखनमा बढि लगाव दिइरहेको सागरले मलेसियामा रोजगारको लागि पुग्दा बढि साहित्यलाई मलजल गर्न गराउन पाए । मलेसियामा रहँदा केस्रा नामक साहित्यिक विधाको समेत प्रतिपादनको निमित्त लागिपरेका सगरको मलेसिया अनुभुति पठनीय छ ।

सन् २००२ मा उनी मलेसिया भित्रिएका हुन् । आखिर विदेशिनु नै पर्ने भएपछि खाडी मुलुकतिर जाने सोँच कहिल्यै बनाएनन् । गाउँमा मलायाको लाहुरे भने पछि दृष्टि बद्लिन्छ । दृष्टि बद्लाउने मलेसिया कस्तो छ त ? भन्ने प्रश्नले मनमा बास ग¥यो । तसर्थ उनलाई मलेसिया जाने सोँचले जित्यो । नेपालमा छँदै साहित्यलाई आफ्नो बनाइसकेका उनले मलेसिया पुगेपछि साहित्य छोड्ने कुरा भएन । झन् मौलाएर गयो ।

मलेसिया नेपालजस्तै रहेछ, उनको दृष्टिमा । विकास मात्र नेपालभन्दा चौबल रूपमा अगाडि बढेको । त्यहाँका बासिन्दा, नेपालीहरूको ठूलो जमघट आदिले करिब १० वर्ष बसाईमा कहिल्यै विदेश छु भन्ने अनुभूति भएन । बरु भारतको गोवामा ७ महिना बस्दा विदेश छु जस्तो लागेको सुनाए । वि.सं. २०५४ सालमा साथीको लहैलहैमा उनी परदेशिएका थिए – भारतको गोवामा । सामुन्दिक तटमा रहेको गोवा भारतको चर्चित पर्यटकीय स्थलमा पर्दछ । देशी विदेशी पर्यटकले भरिभराउ गोवाको विशेषता रात नपर्नुजस्तै हो । कोही दिनमा भ्रमण गरेर मज्जा लिन्थे भने कोही रातमा । त्यहाँ उनले होटल र बगैचामा काम गर्न पुगे । जुन कामको पारिश्रामिक नै उनको पहिलो कमाई थियो ।

गोवामा पोर्चुगली सांस्कृतिक कार्यक्रम हेर्नपुगेको क्षण अविश्मरणीय लाग्छन् भने समुन्द्री तटमा संसारका सबै मानिसहरूको भिडलाई नजिकबाट नजरअन्दाज गर्न भ्याएका पनि छन् ।

पूर्व ४ नं. भोजपुर, लेखर्क ३ वैराङ वि.सं. २०२८ सालमा बुबा धनबहादुर राई र आमा विष्णमाया राईको कोखबाट जन्म लिएका हुन् उनले । वि.सं. २०३५ सालमा उनको परिवार भोजपुरदेखि मोरङको उर्लाबारी बसाइँ सरे । सातवर्षे दिलिपले श्री राधिका प्रा.वि. (हाल मावि) उर्लाबारी ४ बाट प्रारम्भिक शिक्षा शुरु गरी वि.सं. २०४७ मा एसएलसी उतीर्ण गरेका थिए । त्यतिखेर भर्खर प्रजातन्त्रको प्रादुर्भाव भएको बेला एसएलसी उतीर्ण हुनु गाउँघरको लागि निकै राम्रो हुन्थ्यो । कुनै न कुनै जागीरतिर लाग्नसक्ने समय थियो । तर उर्लावारीजस्तो सुगमबस्तीमा बस्दा पनि धेरै कुराको जानकारी नपाउनु नै उनको लागि दुर्भाग्य बन्यो । कतिपय ठाउँको अवसरहरू थाहा पाउँदा समय गुज्रिसकेको हुन्थ्यो । एकचोटी जानकारी पाएर नै राष्ट्रिय वाणिज्य बैंकको लागि विराटनगर फर्म भर्न त पुगे । तर त्यससमयमा नै बेरोजगारीहरूको ताँतीले गर्दा उनको नाम निस्किने कुनै छेकछन्दै भएन ।

०४७ सालमा एसएलसी गरेता पनि ढिलो गरी दमक बहमुखी क्याम्पसमा उनले अध्ययन गरेका हुन् । अंग्रेजी विषय लिएर पढेका उनले आइएको अध्ययनपश्चात भने पढ्न पाएनन् । घरगृहस्थी, परिवार हेर्नुपर्ने बाध्यता उनमा थियो । वि.सं. २०५१ सालमा पवित्रा वान्तवासँग विवाह गरेका दिलिपका दुई छोरीहरू मनिला राई र मोनिका राई छन् । पढेको कुरालाई खेर फाल्नु भएन भनेर वि.सं. २०५७ सालमा विद्यालक्ष्मी बोडिङ स्कुलमा केही समय अध्यापन पनि गरेका छन् । तर साहित्यमा रस भिजको सगरलाई अध्यापनमा रमाउन सकेनन् । सबै युवाहरू विदेश जाने, विदेश गएर आफ्नो रुचि पुरा गर्ने, गीत गाउनेले विदेशबाट फर्किएपछि एल्बम निकालेको, रचना गर्नेले उताबाट फर्किएपछि नै पुस्तक प्रकाशन गरेको जस्ता देख्न थालेपछि ‘देश पनि हेर्ने मुख पनि फेर्ने’ उखानलाई मनन गरे दिलिपले । अनि मलेसिया हुइँकिए ।

दिलिप सगर राई मलेसियाका यस्ता व्यक्ति भए कि, जुनसुकै पत्रिका वा साहित्य संगालो आए पनि उनको रचना समावेश नभएको हुन्न थियो । लघुकथा, कथा, गीत, गजल, लेख सबै प्रकारका रचनाहरूमाथि उनले कलम चलाउने गर्दथे । संग्रहको हिसाबमा उनले नेपाल छँदै ‘त्यही मायालु ठुली’ नामक गीतसंग्रह (वि.सं. २०५७) मा नेपाल हुँदै प्रकाशन गरेका थिए । शायद मलेसियाको नेपालीहरूमाझ बढिभन्दा बढि पुरस्कार र सम्मान पाउनेमा उनी पर्छन् । नेपाल छँदै जीवन आचार्य स्मृति पुरस्कार झापा (२०५८), कञ्चनजंघा युवा क्लव पुरस्कार मोरङ (२०५८), वाईसन नेपाल पूर्वाञ्चलस्तरीय टपटेन कविता पुरस्कार (२०५८) पुरस्कार पाइसकेका थिए भने मलेसियामा श्रम साप्ताहिक साहित्यलेखन पुरस्कार (२०६१), अनेसास वर्ष सम्मान मलेसिया (सन् २००८), उदाउँदो तारा साहित्य समाज सम्मान (सन् २०१०), हाम्रो आवाज साप्ताहिक सम्मान (सन् २००७) जस्ता दर्जनौ पुरस्कार र प्रवासी तमु समाज पेनाङ मलेसियाबाट सन् २००८ मा अभिनन्दन पनि पाइसकेका छन् । यसबीचमा प्रवासमा साहित्यसेवा गरिरहँदै पनि उर्लाबारी गजल मञ्च सम्मान (२०६४), सम्मानित गरेको थियो ।

संस्थागत हिसाबले उनी नेपाली साहित्य समाज मोरङ (२०५५) का संस्थापक सदस्य, त्रिवेणी प्रतिभा कुञ्ज झापा मोरङ (२०५७) का विशिष्ट सदस्य रहिसकेका थिए । मलेसियामा अनेसासका सल्लाहकार, प्रवासी नयन साहित्य समाजका अध्यक्ष र विश्व नेपाली साहित्य महासंघ मलेसियाका उपाध्यक्ष बनेका थिए । नेपाल फर्किएपछि उर्लाबारी गजल मञ्चका सल्लाहकार रहेर साहित्य सेवा गरिरहेका छन् ।

मलेसियामा उनले पिएसबी टेक्नोलोजी एसडीएन विएचडी सुंगाईबुलोहमा कम्प्यूटर अपरेटरमा काम गरेको ६ वर्षसम्म काम गरे । नेपाल फर्किएपछि फेरि पनि सेक्युरिटी गार्डको लागि मलेसिया पुगे । अझै लामो समयसम्म मलेसियामै रहन्छु भन्ने उनको सपनालाई विरामी ज्यानले चकनाचुर पारिदियो । घरमा श्रीमती पनि विरामी नै भएकोले उनी झनै दोहोरो मारमा छन् । र, तत्कालको लागि मलेसिया जाने काममा पूर्णविराम लगाएका छन् ।

१० वर्ष मलेसियाको बसाईमा पहिलो ६ वर्ष सिर्जनशील भएर बित्यो भने पछिल्लो ४ वर्ष भने जिम्मेवारीमा बितेको छ । कामको शिलशिलामा जोहोर उनको कार्यक्षेत्र परेपछि जोहोरका साहित्यिक मनहरूले उनलाई प्रवासी नयन साहित्य समाजको अध्यक्षको जिम्मेवारी सुम्पिए । विश्वमा रहेका नेपाली साहित्यकारहरूलाई समेट्ने हिसाबले संगठीत भएको विश्व नेपाली साहित्य महासंघको मलेसिया उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यति मात्र नभएर मलेसियाबाट नै प्रतिपादन भएको ‘केस्रा विधा’ प्रवक्ताको जिम्मेवारीबाट पनि उम्किन पाएनन् ।

मलेसियाको साहित्यबारे उनको बेग्लै समिक्षा रहेको छ । अन्य देशमा नेपालमा बरिष्ठ साहित्यकारहरू पुग्ने गरेका छन् । सानो कृतिको विमोचनदेखि लिएर बहससम्मको कार्यक्रममा नेपालका साहित्यकारहरू पुगेका छन् । तर मलेसियामा भने ४० वटा जति कृति प्रकाशन भएता पनि कुनै पनि वरिष्ठ साहित्यकारहरूको आगमन भएको छैन । प्रवासी साहित्यमा नाम कमाएका विश्वासदीप तिगेलाको बेलाबेलामा उपस्थिति भएर मलेसियामा साहित्यमा थप आयाम दिन कोशिष दिएका छन् भने अनाममण्डलीले गजलकार देवी ओझलाई निम्ता गरेर नेपालका वरिष्ठ व्यक्ति मलेसिया पुगेको भन्ने एउटा इतिहास बन्न सकेको छ । मलेसियाको साहित्य स्वतःस्फुर्त रूपमा अगाडि बढेको उनको कथन छ ।

पुष्पा राई सवाल, नन्दकुमार सुब्बा, जीवन देवान, गणेश खड्का, पदम चिन्तित, मनि राई गोठालेलगायतको सक्रियतामा प्रकाशित मलेसियाको प्रथम साहित्यिक मितेरी साहित्य संगालो प्रकाशनले मलेसियाको नेपाली साहित्यकाश शुरु भएको मान्नुपर्छ भन्छन् दिलिप । यो भन्दा अगाडि मलेसियामा नेपाली पत्रपत्रिकाको प्रकाशनले पनि थोरै सिर्जनशीलहरूलाई टेवा पुगेको थियो । सर्जकहरू मीनप्रसाद उप्रेती, डा. कविताराम श्रेष्ठलगायतकाहरूले सिर्जना पुस्तकालय उद्घाटनको अवसरमा श्रम साप्तहिक र अन्य साहित्यकारहरूसँगको भेटघाट भएपछि मलेसियामा नेपाली साहित्यको अध्याय शुरु भएको मान्छन् । त्यसपछि लगातार पत्रिकासँग सम्बद्ध भएको र त्यो सम्बन्ध सबै पत्रिकासँग विस्तार भएको कुरा सुनाउँछन् ।

मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छ । उही दुःख, उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरूले ‘त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरूलाई उक्काएर लैजान सके राम्रो हुन्छ ।’ भन्ने तर्कना दिन्छन् दिलिप सगर । अझ हौसलास्वरूप मलेसियाबाटै केस्रा विधाको प्रतिपादन भएको छ । जुनसुकै वस्तुको एउटा सानो भागमा पनि त्यो वस्तुको गुण पाइन्छ । त्यो वस्तु नै केस्रा हो भन्ने परिभाषाबाट अगाडि आएको केस्रा लेखनमा हालः धेरैले कलम चलाउन थालेका छन् । यो मलेसिया बसाइँको महत्वपूर्ण उपलब्धि मान्छन् ।

जब फेसबुकमा प्रवेश भए, साहित्य लेख्नेहरूले आफ्नो रचना लेख्नेबित्तिकै प्रकाशित गराउने क्रममा मलेसियाबाट लेखिएका साहित्यलाईलाई त्यति महत्व नदिएको महसुस गरेकोले मलेसियाबाट केही गर्न सक्छन् भन्ने अभिप्रायले गर्दा केस्रा विधाको जन्म भएको सुनाउँछन् दिलिप ।

त्यही मायालु ठूलीपश्चात लघुकथा सङ्ग्रह नियति, केस्रा सङ्ग्रह सिम्मा, गीति एल्बम तस्बिर ल्याइसकेका छन् । मलेसियाबाट प्रकाशन भएका सबै संयुक्त सङ्ग्रहमा उनको रचना समावेश छ भने नेपाल र अन्य मुलुकबाट प्रकाशित संयुक्त सङ्ग्रहमा पनि उनी अटाइएका छन् ।

‘खै र ! अब फेरि विदेश गइन्छ गइन्न, ता पनि प्रवासमा गर्न खोजिएको कामहरू धेरै बाँकी छन् । संयुक्त लघुकथा सग्रहको तयारी गर्नुछ, आफ्नो कृतिको बजारव्यवस्थापन गर्नुछ ।’ दिलिप सुस्केरा हाल्दै बोल्छन् । मलेसिया गए पनि नगएपनि मलेसियासँग कदाचित टाढा नरहेको सन्देश पनि दिन चाहन्छन् दिलिप ।०००

सम्बन्धित समाचार

ग्लोबल एजुकेशनल एकेडेमीले मनायो रजत जयन्ती

ग्लोबल एजुकेशनल एकेडेमीले शिवसताक्षी झिलझिले बजारमा रहेको वाटर किङ्डम पार्कमा एक औपचारिक समारोह आयोजना गरी आफ्नो २५ औं वार्षिक उत्सव मनाएको छ । सोही अवसरमा विभिन्न शैक्षिक संस्थाका संस्थापकहरु बिच दशै शुभकामना आदान प्रदान कार्यक्रम...

हिमाञ्चल साकोसको सपथ ग्रहण र बधाई शुभकामना कार्यक्रम

दमक/ दमक १ स्थित हिमाञ्चल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं वार्षिक उत्सव र साधारण सभा एवं चौथो अधिवेशन कार्यक्रम एक औपचारिक समारोह गरी एकै पटक सम्पन्न गरेको छ । नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको...

फाल्गुनन्द साकोसको सपथ ग्रहण र बधाई शुभकामना कार्यक्रम

दमक/दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण तथा बधाई शुभकामना कार्यक्रम आज ( बुधबार) सम्पन्न भएको छ । दमकमा मुख्य कार्यालय रही झिलझिले, विर्तामोड लगायतका ठाउँमा सेवा...

फाल्गुनन्द साकोसको अध्यक्षमा पुन: लिङ्देन निर्वाचित

दमक । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थ लि. को अध्यक्षमा पुन: संकल्प लिङ्देन (पदम) निर्वाचित भएका छन । दमकको कास्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न १० औ साधारण सभा पछि नया नेतृत्वको लागि अध्यक्ष र...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।