याम सिकारु
म खुवालुङ्ग
आफ्नै भूगोलमा टेकेर
फक्ताङ्लुङ्गलाई हेरीरहेको छु
वाबुक समातेर केनको तालमा
मुन्धुमी रिसिवामा गित गाइरहेको छु
अरुण, तमोर र दुधकोसीको
शुद्ध सफा हिम पानीले नुहाएर
कालजयी अमर बनिरहेछु ।
१८१४ को ताम्रापत्रको साक्षी म
केही नबोली उभिरहेछु
२१ सालको भूमिसुधारको घाइते म
मुकदर्शक बनेर बसिरहेको छु ।
मैले तिम्रो अस्तित्व पेल्न गएको होइन
सम्झौताको लठ्ठी टेकेर
तिमी पाहुना बनेर आएको हो
मैले शरण दिएकै हो
मेरा सोझा सन्तानहरुलाई
मेरै सामु जिउँदै जलायौ
जिउँदै बगायौ
ओखलीमा नाबालकहरुको अचार बनायौ
मैले कोसी बनाएर बलिन्द्र आँसु बगाएकै हो
मैले सहेर बसेकै हो ।
मेरो टिस्टा सम्मको भूगोल बेचेर
तिम्रो श्रीपेच सौदा गर्यौ
मैले केही बोलिन
त्रिवेणी बाट चिम्सा आँखाले हेरीरहे
मात्र हेरीरहे
२१ सालमा भूमिसुधारको हतौडाले ताम्रापत्र तोड्यौ
मैले केही बोलिन
आज स्काभेटर लगाएर
मेरै शिर छेदन गर्न चाहन्छौ
अब मैले बोल्नु पर्छ
मैले बोल्ने दिन शुरु भए संगै
तिम्रो सुन्ने / मुकदर्शक बन्ने पालो आउदैछ
बर्खाको भेलले मलाई छोपे जस्तै
मेरा इतिहासलाई
मेरा मुन्धुमलाई
मेरा लिपीहरुलाई
धेरै दिन देखि छोपेर
कालकोठरीमा बन्धक बनाएर राख्यौ
मेरा सन्तानहरुको छात्ती नापेर
नरमेधमा होमाधी गरेकै हो
आँखामा पट्टी बाधेर
स्तुति गाना गाउन लगाएकै हो ।
तिमीले पानीमा डुबेको ढुङ्गा ठान्यौ
मैले इतिहास , सभ्यता अनि
मिथक मिसाएर रिसिया गाए
तिमीले मेरो अस्तित्व मेट्ने योजना बनायौ
मैले आफ्नो पहिचानलाई नविकरण गरे
तिम्रो पुर्खालाई शरण दिने यो बिशाल छात्तीमा
बुलडोजर चलाउनु अघि
तिम्रा पुर्खाले साक्षी राखेका
आकाशका सुर्य चन्द्रलाई सोधेर आउनु
अन्यथा ,
तिम्रो नजरको ढुङ्गा
मेरो अस्तित्व अनि सभ्यता
यही पानीको छाल बोकेर निस्कनेछ
सुनामी बनेर
अनि
तिम्रो दम्भका ढाकरहरु
अराजकताको पिलरहरु
बगेर तल कतै गंगा तिर पुग्न सक्छ
इतिहास साक्षी छ
दम्भको सगरमाथा चडेर
शिखरमा कसैले घर बनाएर बसेको छैन ।
शुष्मा रुपाबुङ
खुवालुङ
तिमीले बाटैको ढुङ्गा उठाएर
रातो अबिर धसेर भगवान
उद्घोष गर्दियौ
मैले धुपपाती चडाएर चोखो मनले
लम्पसार परेर ढोगेकै थिए
तिमीले परिचय गराएका तेत्तिस
कोटी देउता स्विकारी
तर
मेरो युग सभ्यताको एक ईतिहासको
साक्षी ‘खुवालुङ्’लाई किन
देख्छौ सिर्फ एउटा अकडो
निर्जिब पत्थर??
बाहिर स-सम्मान र सह-अस्तित्व
नाराको बिगुल फुकेर सत्ता-मालिकको
सौदा गरेर
भित्रभित्रै सकुनी चालले
आफ्नो एकात्मक सक्त्ती बिस्तार गरी
मेरो ईतिहासलाई,मेरो अस्तित्वलाई
नामेट पारी
म हरुलाई आफ्नै भुमिमा बिरानो बनाउने
कपटी खेल किन खेलिरहन्छौ तिमी ??
तिम्रो आँखाको कसिङ्गार
बनेको
खुवालुङ्
मेरो आँखाको नानी हो
मेरो युग सभ्यताको साक्षी हो
तिम्रो नजरमा एउटा निर्जीब पत्थर होला
तर त्यो मेरो पुर्खाहरुको सजिव पवित्र
आत्मा हो
सदियौ देखी नदिको बहावको ठक्कर सहेर
जसरी अटल अचल सिर ठाडो पारेर उभिरहेछ
मेरो खुवालुङ
र पुस्तौनि हामीलाई दिइरहेछ आसिर्बाद
त्येसरिनै अटल र अमर छ हाम्रो
आस्था र विश्वाश पनि…
खुवालुङ मेरो पहिचान हो
मेरो अस्तित्व हो
सारा जिवनको सार हो
खुवालुङ बाट सुरु भइ
खुवालुङमै बिलिन हुन्छ मेरो आत्मा
हिज खुवालुङले जसरी चिनायो
मेरो अस्तित्व
त्त्येसरिनै भोली चिनाउनुछ
मेरा भावी पिढिहरुलाई
खुवालुङ बिना
अपुरो हुनेछ
हाम्रो जीवन
खुवालुङ बिना
रित्तो हुनेछ
हाम्रो आत्मा
शरिरलाइ दिएको चोट सहन सक्छौ
तर आत्मालाई कदापी!
बिचारलाई ठेस पुर्याएको सहन सक्छौ
आस्था र बिस्वास्लाइ कदापी!!!
त्येसैले
खवरदार!!
मेरो आत्मालाइ
मेरो आस्था र बिस्वास्लाइ
मेरो अस्तित्वमाथि छेडखानि गर्ने
दुस्साहस नगर्नु
अब म हरु ले एकै स्वरमा
ललकार दिनेछन तिमीलाई
खुवालुङ लाई छोएर त हेर!!!!!!