बिहिबार, १६ असार, २०७९ 

भ्याकु गाउँ छिरेपछि आनन्द छ !

An excavator being used to build the village road at Ghermu VDC, in Lamjung, on Thursday. Photo: THT

गाउँ–गाउँमा ‘भ्याकु’ आतंक । लिम्बूवान क्षेत्रका मानिस स्काभेटरलाई ‘भ्याकु’ भन्छन् । घरमाथिको डिलबाट हिउँदको ६ महिना मात्र गुड्ने मोटरको धुलोले घरआँगन छोपेपछि बोजुको गनगन सुरु हुन्छ । कोठेबारीको तरकारीमा धुलोको असर देखेपछि आमाको गनगन सुरु हुन्छ । मोटरले उडाएको धुलोले घाँसपात जिम्लेपछि बाको गनगन सुरु हुन्छ । त्यैपनि छोरो आँगनमै भटभटे बटार्छन् ! घर–घरमा महँगो मोटरको जोहो छ । उहिले लैना भैंसी, हल गोरु घरका सान थिए, अहिले भटभटे ! फरक यति हो लैनो भैंसीले दूध दिन्थ्यो, भटभटे उल्टै पिउँछ । तैपनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

भ्याकु गाउँ छिरेपछि छोरी माइत आउँदा आमाका लागि भनेर निख्खुर कोदोको तीनपाने आउन छाड्यो । घर–घरमा चेप्टे सिसीको चाङ लाग्न थालेको छ । सिजङ्वा पिउन छाडेपछि फाल्गुनन्द उपनाम पाएका माइला सुब्बा लर्खराउँदै हिँड्छन् । होइन हौ माइला सुब्बाले छोडेको होइन ? गाउँलेलाई सोध्दा भन्छन्– बियर त अन्नको रस रेन्त ! वेला–वेला बजाउँछन् ! बियरका बोतल वरपर जताततै छरपस्ट भेटिन्छन् । यता लामहिम ठूलीको पैकार चौपट भैसक्यो । निख्खुर कोदोको सिजङ्वा बिक्न छाडिसक्यो । छनुवा बिक्ने कुरै भएन । बरु, वेला–वेला भ्याकुले खनेको बाटो पछ्याउँदै पुलिस पो आइपुग्छन् । अलि–अलि बिक्ला कि भनेर बनाएको तीनपाने लुकाउँदा–लुकाउँदा लामहिम ठूलीलाई हैरान छ । अन्नको रस भनेर बियर पिउने तर निख्खुर कोदोबाट बनाएको तीनपाने नपिउने समय आइसक्यो । तैपनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

भ्याकु गाउँ छिरेसँगै मकै र भट्टमास भुटेर क¥याम–क¥याम चपाउने दिन सकियो । प्याकेटका तयारी खाजाहरूले गाउँमा आधिपत्य जमाउन थालेपछि खाजाको रूपमा मकै–भट्टमासको युगौँ पुरानो इतिहास ओझेल पर्दै गयो । चिसो भनेकै … नामका व्यापारिक विज्ञापनको प्रभाव व्याप्त छ । अब मही खाएर आनन्दले तिर्खा मेट्ने समय छैन । ज्यामराज चढेर रातो रंगको एलपी ग्यास गाउँ छिरेसँगै घरवरपरका जंगलमा दाउरा कुहिन थाल्यो, बर्खायामभरि पुग्ने दाउरा सञ्चित गर्ने परम्परा हरायो । गाउँ पनि सहरसँगै ग्यास हाहाकार सामना गर्न तयार हुँदै छ ! तोरीबारीमा दुई औंला देखाएर फोटो खिच्ने दिन अब छैन । प्याकेटको सनफ्लावरले तोरीबारी विस्थापित भयो । टुकटुके मिलको आवाज सुन्न छोडियो । ठेकी र मदानीको घुर–घुरसँगै नौनी घ्यूको त्यो स्वाद पनि हरायो । अब घ्यूले भुटुनको मान्यता नै गुमायो । आत्मनिर्भर गाउँले विकासको नाममा परनिर्भरताको बाटो समात्यो । तैपनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

चिहानसँग के रिस थियो कुन्नि, लाखौँलाख चिहान भ्याकुले उधिनेर सत्यानाश ग¥यो । चिहान सभ्यता हो । तर, मोटर चढ्ने नाममा सभ्यता पनि जुवा हानियो । तर पनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

सिरान डाँडाबाट भ्याकु मालिकले आँखा चिम्लेर गाउँ हेरेपछि नजर लाग्यो क्यारे ! सिमे–भूमे रिसाउँदा गाउँमा आजकाल ठुल्ठूला पहिरो जान थालेको छ । भ्याकु गुरुजीको इन्जिनियरिङमा खनिएको मोटर बाटो पहिरोको कारण बनेको छ । गाउँभरका भाले खाँदै भ्याकुगुरुले बल लगाएर जथाभावी भ्याकु चलाउँदा थर्किएर ढुंगामाटोको सम्बन्धमा फाटो आउँदा पहिरो जान सहज भएको छ । हिउँदमा धुलो उडाउँदै मोटर गुड्ने बाटो बर्खायाममा गाउँभरका भेलबाढी बग्ने बाटो बनेको छ । दक्ष इन्जिनियरसहित अन्य प्राविधिक प्रयोग गरेर बाटो खनिएको भए आज सुविधाको नाममा सास्ती खेप्नुपर्ने पक्कै थिएन । गाउँलेको बर्खायाम पहिरोको पिरलोमा बित्न थालेको छ । तर पनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

धर्ती हल्लाउँदै भ्याकु गाउँ–गाउँ छिरेपछि पानीको मुहान क्षेत्रका वन अनियन्त्रित रूपमा मासिए । युगौँदेखि बाह्रै महिना पानी आउने मुहानहरू सुक्न थाले । कहिल्यै पानीको संकट नभोगेका गाउँबस्ती संकट भोग्दै छन् । पानीको मुहानवरपर अनियन्त्रित रूपमा यन्त्र प्रयोग गर्दा उत्पन्न कम्पन र अन्य गतिविधिले पानीको प्राकृतिक रुटमा असर परेपछि सहतसम्म पानी आउन छोड्यो । भ्याकु पुग्न बाँकी गाउँहरूमा संकट निकट छ । गाउँमा मोटर गुडाउने चाहमा भ्याकुगुरुलाई मनपरी खन्न लगाउँदा पानीको मुहानमा असर पर्यो । त्यसैले पानी संकट सुरु भयो । यस्तै चाला हो भने सन्ते साहुजीले घर–घरमा पानीको जार सप्लाई गर्ने दिन टाढा छैन । तर पनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

गाउँमा भ्याकु छिरेपछि आस्थाका धरोहर मासिए । युगौँदेखि साकेला नाच्ने थानहरूमा भ्याकु नाच्यो, त्यसपछि मोटरहरू नाचिरहेका छन् । युगौँ पहिले भएका घटनाहरूको साक्षी मानिएका ढुंगाहरू भ्याकुले उधिनेपछि सभ्यता संकटमा प¥यो । लाखौँ फलैँचाहरू मोटर चढ्ने नाममा मासिए । फलैँचाहरूसँगै पितापुर्खाको सम्झना हरायो । चिहानसँग के रिस थियो कुन्नि लाखौँलाख चिहान भ्याकुले उधिनेर सत्यानाश ग¥यो । चिहान सभ्यता हो । तर, मोटर चढ्ने नाममा सभ्यता पनि जुवा हानियो । तर पनि भ्याकु गाउँ छिरेपछि आनन्द छ !

गाउँ–गाउँमा सिंहदरबार ! सुन्दा पनि गज्जब नै लाग्छ । गाउँ–गाउँमा सिंहदरबार भन्नुको अर्थ सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्नु हो । आशय गलत थिएन । तर, सिंहदरबारको चरित्र सर्लक्कै गाउँ–गाउँ पुग्नुचाहिँ अभिशाप नै भयो । देश संघीय संरचनामा गएपछि गाउँ सरकारहरू बनेका छन् । तर, गाउँपालिकाहरू पनि सिंहदरबार जस्तै छन् । गाउँ सरकारहरूले पनि बुझेको विकास भनेको भ्याकु लगाएर डाँडाकाँडा चिरा–चिरा पार्नु मात्र हो !

सिंहदरबारले विकासको नाममा जसरी काठमाडौं उपत्यकावासी नेवार समुदायको उपगमहरूमा भ्याकु चलायो, त्यसरी नै गाउँ–गाउँका सिंहदरबारहरू पनि विभिन्न जाति र समुदायको उपगमहरूमा भ्याकु चलाउँदै छन् । सिंहदरबारले राज्य संरक्षित समुदायको आस्थाका सम्पदाहरूलाई संरक्षण गरेर अरूको सांस्कृतिक आस्थाहरूमा जसरी भ्याकु चलायो, गाउँ गाउँको सिंहदरबारले त्यसै गर्दै छन् । घाट र चिहान, मन्दिर र मस्जिदजस्तै अरू धेरै कुरामा सिंहदरबारको नजर जस्तो थियो, गाउँ–गाउँ पुगेको सिंहदरबारको नजर पनि उस्तै छ । घाट संरक्षणमा माटो थुपार्ने भ्याकु नै चिहान भत्काउन माटो उधिन्छ ! भ्याकु गाउँ नछिर्दासम्म सबैको व्यथा उस्तै थियो । तर, भ्याकु गाउँ छिरेपछि सिंहदरबारको चरित्रले सबैको व्यथा धार्मिक, राजनीतिक वा अन्य कुनै आस्थाका आधारमा बेग्ला–बेग्लै बनाइदियो । विभेदकारी सिंहदरबारको चरित्र सर्लक्कै गाउँ–गाउँको सिंहदरबारमा सरेको छ ।

भौतिक विकासबारे अहिलेको अवधारणाले लक्षित वर्गमा असीमित सुविधा पु¥याएको जस्तो देखाउँछ । तर, जति सुविधा पुगेको छ, त्योभन्दा धेरै सास्ती थपेको छ । यसको प्रभाव झट्ट देखिँदैन तर कालान्तरमा घातक सावित हुन्छ । जति विकास भयो, त्योभन्दा धेरै विनाश भएको छ । गाउँमा मोटरबाटो पुग्नु गलत थिएन । तर, भ्याकुगुरुको इन्जिनियरिङमा जताततै चिरा–चिरा पार्नु गलत थियो । भौतिक विकासप्रति राज्य गम्भीर र जिम्मेवार भएको भए योजनाबद्ध रूपमा भौतिक विकासको आधार मानिएको सडक, बिजुली, खानेपानीलगायत काम हुने थियो । तर, राज्य कहिल्यै पनि गम्भीर हुन सकेन । विकासको अथाह सपना देखाएर राज्य बेखबर रहँदा नागरिकको सपना ओइलाएन, झनै मौलायो । चाह पूरा हुन्छ भने भ्याकुगुरुको इन्जिनियरिङ नै ठीक । गाउँमा मोटर गुडाउने नै हो !

आफूलाई भौतिकवादी भन्नेहरू देश हाँक्दै छन् । उनीहरूको मान्यता– ‘ध्वंस नभई निर्माण हुँदैन !’ तर, यो उक्ति खारेज गर्नुपर्छ । भौतिकवादले भौतिक विकास र विनाशलाई पर्यायवाची मान्दैन । अब ‘ध्वंस नगरी पनि निर्माण सम्भव छ !’ भन्नुपर्छ । भएका प्राकृतिक तथा मानव निर्मित ऐतिहासिक संरचनालाई जोगाएर पनि भौतिक विकास सम्भव छ । त्यसका लागि विकासप्रतिको अवधारणा परिवर्तन हुन आवश्यक छ । विकास गर्ने बहानामा विध्वंस गरेर विकास चाहने नेपाली नागरिकको भावनामा खेलबाड गर्नु गम्भीर धोका हो । विकासप्रति अहिलेको अवधारणाले विकासको नाममा धोका दिँदै छ । भौतिक विकासको नाममा जारी विनाश अन्त्य हुनुपर्छ ।

अहिलेको विकासे अवधारणाले विनाश गर्न मात्र सिकाउँछ । आत्मनिर्भरताबाट परनिर्भरतामा धकेल्छ । आफूसँग भएको वस्तुलाई मूल्यहीन मानेर सुविधाको नाममा अरूबाट उत्पादित वस्तुलाई मूल्यवान् सावित गराउन अहिलेको विकास प्रणालीले भूमिका खेल्छ । गाउँमा उपलब्ध कच्चापदार्थको प्रयोगमा युगौँदेखि उत्पादन हुँदै आएका वस्तुहरू यो अवधारणामा अस्वीकृत छन् । र, आवश्यकता पूर्ति गर्न आयातित वस्तुहरूमा मानिसलाई निर्भर हुन बाध्य तुल्याउँछ । विकास भनेको सडक, बिजुली र खानेपानी मात्र हो भन्ने गलत मानक स्थापित भएको छ । समग्रमा भन्दा अहिलेको ‘भ्याकु विकास’ अवधारणाले आफ्नो अस्तित्व गुमाएर अरूको नक्कल गर्दै बाँच्न सिकाउँदै छ । जय भ्याकु 
साभार स्रोत nayapatrikadaily.com

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।