
माङसेबुङ इलामको माङसेबुङ गाउँपालिका स्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण खेलकुद प्रतियोगिता सुरु भएको छ ।
किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।
उद्घाटन खेलमा रोयल स्पोर्टिङ क्लब दमक र एपि. एस. सी. माङसेबुङले विजयी सुरुवात गरेको छ । दमकले चुलाचुली गाउँपालिका खेलकुद समितिलाई ३–१ गोलले पराजित गर्दै दमकले विजयी यात्रा सुरु गरेको हो । माङसेबुङले पञ्चकन्या एफ सी उदयपूरलाई ४–० गोल अन्तरले विजयी हुदै सेमीफाइनलमा प्रबेश गरेको छ ।
जितका लागि दमककी डिया साही र दिव्या मगरले गोल गरिन् । खेलको सुरुवाती समयमा चुलाचुलीले खेल प्रदर्शन गरेपनि गोल रक्षकको गल्तीले दमकले पहिलो गोल गर्नमा मौका पाए ।
खेलको २१ औं मिनेटमा नै दमककी डियाले पहिलो गोल गरिन । मध्यान्तरपछिको ८ मिनेटमा दिव्याले गोल गरी टिमलाई २ गोलको अग्रता दिलाइन् । १८ औं मिनेटमा चुलाचेलीकी एलिनाले १ गोल गरे पनि पुनह रोयलका डीयाले गोल गर्दै ३–१ अन्तरले रोयलको जित निश्चित गराएकी थिइन् ।
आजै भएको अर्को खेलमा एपी. एस. सी. माङसेबुङले पञ्चकन्या एफ सी उदयपुरलाई ४–० गोल अन्तरले जित सुनिश्चित गरेको थियो ।
माङसेबुङका लक्ष्मी ठटालले खेलको ६, ११,२७ र ४३ औं मिनेटमा गोल गरेकी हुन ।

उता उदयपूरले भने खेल अवधिभर कुनै गोल गर्न सकेन । उदयपूरका खेलाडीलाई विपक्षीको पोलमा पुग्न समेत हम्मेहम्मे परेको थियो । विपक्षीको निरन्तर दवावमा परेको उदयपुरका खेलाडीहरुले रक्षात्मक समेत खेल्न सकेको थिएन ।
खेलको उत्कृष्ठ खेलाडि विजेता दमककी डिया साही घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने माङसेबुङकी लक्ष्मी ठटाल उत्कृष्ठ खेलाडि विजेता घोषित भइन ।
प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र खदम स्र्पोटिङ क्लब मोरङबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल सातिसाले एफ सी मोरङ र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
फूटबलको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।
आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् ।
प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।