
दमक, २७ माघ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्य कारिणी सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भन्डारीको प्रतिगमनबाट सिर्जना भएको राजनीतिक अस्थीरतालाई रोक्न संयुक्त आन्दोलन आवश्यक भएको बताएका छन् ।
सोमबार झापाको दमकमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका यादवले पत्रकार मञ्च दमकको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले भने “अब फागुन पहिलो हप्ताभित्र जसपा, कांग्रेस र नेकपा (माधव–प्रचण्ड समूह) को संयुक्त मोर्चा गठन गरेर प्रतिगमन विरुद्ध सशक्त आन्दोलन हुन्छ ।”
देशलाई घात र संविधानलाई आघात गर्ने ओली कदमका कारण जनताले प्राप्त गरेका अधिकार गुम्ने खतरा रहेको भन्दै पूर्व मन्त्री समेत रहेका यादवले दलहरुले नभइ जन–आन्दोलनबाट प्राप्त भएको उपलव्धिहरु गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतको रक्षाको लागि पनि जनता नै जागरुक हुनुपर्ने उनको भनाई थियो ।

प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले पत्रकार सम्मेलनमा बोल्दै जसपालाई आदिवासीहरुको पार्टी, मधेसीहरुको पार्टी भनेर आक्षेप लगाएको प्रति दुःख व्यक्त गर्दै जसपा नेपाल सारा नेपाली जनताको अधिकार प्राप्तीका निम्ति जोडदार आवाज उठाउने एक मात्र राष्ट्रिय पार्टी रहेको उल्लेख गरेका थिए । आफूहरु प्रतिगमन विरुद्ध जन जागरण अभियान सहित पार्टी समायोजन र रूपान्तरण कार्यमा जुटेको चाम्लिङले बताए ।
प्रदेश १ मा छिट्टै तहगत पार्टी समितिहरु समायोजन र रूपन्तरण गर्ने भन्दै चाम्लिङले मतका आधारमा जसपा तेस्रो शक्ति भए पनि अग्रगामी मुद्दाका आधारमा पहिलो राजनीतिक शक्ति भएको दावी गरे ।
जसपा झापा क्षेत्र नं ५ क्षेत्रीय समितिपार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय नेताहरु पर्शुराम बस्नेत, दिपक मेन्याङ्बो, हरीदेवी राई, उमेश थापा, दिनेश मेहेता लगायतले प्रतिगमनलाई परास्त गर्न पार्टीले विभिन्न चरणमा आन्दोलन गरिरहेको भन्दै पार्टी समायोजन कार्यलाई पनि सम्पन्न गर्दै लगिने बताएका थिए ।
ओममाया आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिपक न्यौपानेको सन्चालन, खेम दाहालको स्वागत र हिरालाल राजवंशीले धन्यवाद ज्ञापन गरेका थिए ।