सरकारको युवाशक्ति विदेशिन रोकेर समृद्ध नेपाल बनाउने अभियान नारामा मात्रै सिमित भएको छ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।
नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ । चित्रकारले भने, “४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् ।
इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । भारतीय मजदुर आउन चाहेका छैन भने ल्याउने अवस्था पनि कठिन भएको उनी बताउछन् । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्को बाध्यता रहेको चित्रकार बताउछन् ।
महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउछन् । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए ।
नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्वदेशमा उत्पादन हुने इटाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताए ।
विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उहाँले स्मरण गराए । नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो । महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् ।
विदेशिनेको संख्या उच्च
विदेशिने युवालाई स्वदेशमा नै रोजगारी दिने सरकारको योजना रहेपनि देशभित्रका उद्योगहरु क्रमश बन्द हुँदा विदेशिनेको संख्या पनि बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा रोजगारीका लागि विदेशिने नेपालीको १ लाख ६८ हजार ७ सय ८१ जना रहेको छ । गतवर्षको सोही अवधिको तुलनामा यो संख्या १ लाख ७४ हजारभन्दा बढी रहेको थियो तर कोरोना कहरका विच विदेशिनुका बाद्यतालाई हेर्ने हो भने प्रतिशतमा विदेशिनेको संख्या बढी हो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या पनि निरन्तर घटेको देखाएको छ । चालू आवको मंसिरमा २४ हजार ४ सय ९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकोमा पुसमा २२ हजार ४ सय ४९ पुगेको हो । कात्तिक महिनामा सो संख्या ३१ हजारभन्दा बढी रहेको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पुसमा संस्थागत रूपमा श्रम अन्तिम स्वीकृति लिई २७ हजार ९ सय २७ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन् । अघिलले महिनामा यो संख्या २७ हजार ९ सय ६५ रहेको थियो । चालू आवमा रोजगारीको क्रममा विदेशिनेमध्ये १ लाख ५८ हजार ३ सय ३३ जना पुरुष रहेका छन् भने ९ हजार ८ सय ५७ जना महिला छन्। पुसमा विदेशिने महिला कामदारको संख्या १ हजार ४ सय ६४ रहेको छ, जुन मंसिरको तुलनामा ५८ जनाले कम हो ।
‘गर या मर’ को स्थितिमा युवा
बेरोजगारीले एउटा जल्दोबल्दो युवालाई ‘गर या मर’ को स्थितिमा र्पुयाएपछि के गर्नु ? यही अवस्थाले अहिले विदेशिने नेपालीलाई ‘जस्तो काम भएपनि गर्छु’ भन्ने बनाउँदै लगेको छ । समग्र संख्यमा गत आर्थिक वर्षकोभन्दा चालु आर्थिक वर्षमा विदेशिने युवाको संख्या उच्च दरमा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा विदेशिने युवाको संख्या गतवर्षको भन्दा ३२ प्रतिशतले बढेको छ ।
कति बाहिरिए ?
गत आर्थिक वर्षको मंसिर महिनासम्म १ लाख ७४ हजार ९ सय २६ जना विदेशिएका थिए । तर, यो वर्ष बढेर २ लाख ५९ हजार ६ सय पुगेको छ । यसवर्ष कामका लागि विदेशिनेको संख्या गतवर्ष भन्दा ८४ हजार ६ सय ७४ बढी देखिएको छ ।
मंसिरमा विदेशिने धेरै
यो वर्षको मंसिर महिनामा सबैभन्दा धेरै ६५ हजार ८ सय ९१ जना बाहिरिएका छन् । गतवर्षको मंसिरमा ३८ हजार ३ सय ५० जना मात्रै बाहिरिएका थिए । यस अघि कात्तिकमा ५८ हजार १ सय ८२, असोजमा ४२ हजार २ सय ८, भदौमा ४९ हजार २ सय १२, साउनमा ५१ हजार १ सय ७ जना युवा काम खोज्दै बाहिरिएका थिए ।