मङ्गलबार, १३ चैत, २०८० 

पूर्वका पर्यटकीय स्थलमा चहल पहल शुरु

प्राकृतिक सौन्दर्यले सम्पन्न पर्यटकीय क्षेत्र इलाममा बर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ । तर पछिल्लो समयमा सम्भावना भएअनुसार यहाँका कुनै पनि पर्यटकीयस्थलमा पर्यटक आउन चाहिँ सकेका छैनन् । अन्तुडाँडा घुम्न आउने पर्यटकको संख्या जिल्लामै आसलाग्दो देखिए पनि अन्यत्र व्यवसायीले अपेक्षा गरे अनुसार हुन सकेको छैन । विशेषगरी आन्तरिक पर्यटक बढी आउने इलाममा बाह्य पर्यटकको संख्या चाहिँ सधैं नगन्य हुन्छ । जिल्लाका उत्तरी क्षेत्रमा भारतको पश्चिमबंगालका पर्यटक आउने भए पनि उनीहरूलाई घुमाउने स्पष्ट ‘प्याकेज’ बन्न नसक्दा पर्यटकको बसाइँ छोटो भइरहेको छ ।

जिल्लाका सुर्योदय र इलाम नगरपालिका तथा सन्दकपुर गाउँपालिका पर्यटनमा अत्यन्त सम्भावना भएका स्थान हुन् । सुर्योदय नगरको कन्याम–फिक्कल–अन्तु सर्किट र सन्दकपुर गाउँपालिकाको सन्दकपुर नेपाल सरकारको ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समेत छन् । सन्दकपुरकै माइपोखरी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रोङ गाउँपालिकाको पाथीभरा, सुर्योदय पशुपतिनगरलगायत दर्जनौं गन्तव्यले पर्यटन वर्ष २०२० मा राम्रो आधार तयार गर्न सक्ने भए पनि प्रचार–प्रसार अभाव छ ।

इलाम घुम्न आउने पर्यटक ठोक्किने अर्को महत्वपूर्ण क्षेत्र हो इलाम सदरमुकाम । यहाँ आएका पर्यटकलाई धेरै समय यतै भुल्याउने र अन्य पर्यटकलाई समेत यहाँ आउन उत्साहित गरून् भन्ने हिसाबले तयारी गरिएको इलाम नगरपालिकाले जनाएको छ ।
लकडाउनले थलियो पर्यटन क्षेत्र

लकडाउनका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो । पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्यो । यसको विपरीत लकडाउनपछि स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो । स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे ।

चार महिना घरमै थुनिएका मानिसलाई लकडाउनपछि घुम्ने क्षेत्र आवश्यक पर्यो । त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो । घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे ।

इलाम जिल्लाका सन्दकपुर, श्रीअन्तु, माईपोखरीलगायतका क्षेत्रमा त भीड नै लाग्यो तर गुमनाम पर्यटकीय क्षेत्रमा चहलपहल बढेपछि पर्यटनकर्मी र स्थानीय तह भौतिक निर्माण र व्यवस्थापनमा जुटेका छन् । हुन त पछिल्लो समय केही पर्यटकीयस्थल चलचित्र र म्युजिक भिडियोको सुटिङ क्षेत्र बनेर पनि चर्चामा आए ।

सुटिङ स्पट भन्दै छ्याप्छ्याप्ती तस्वीर
सुटिङ स्पट भन्दै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती तस्वीर सङ्ग्रहित भए । यसैले धेरै पर्यटक सोही क्षेत्र पुगे । जिल्लामा नयाँ पहिचान बनाएका पर्यटकीय क्षेत्र दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डे डाँडा, गुफाथुम्की मुख्य हुन् । लकडाउनअघि सामान्य चर्चा कमाएका यी क्षेत्र पछिल्लो समय एकाएक चर्चामा पुगेका हुन् । इलाम नगरपालिकाको दिदीबहिनी झरना पछिल्लो समय अत्यन्तै बढी पर्यटक पुग्ने मुख्य गन्तव्य क्षेत्र हो । विशेषगरी शुक्रबार र शनिबार यस क्षेत्रमा पर्यटकको चहलपहल चल्छ ।

उस्तै झरना, एकै ठाउँमा भएकाले यी झरनालाई दिदीबहिनी झरना भनिएको हो । सदरमुकाम नजिकै रहेकाले पनि यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको पर्यटनकर्मी सोम सुनुवारको भनाइ छ । सुगम सदरमुकाम नजिक र छोटो बाटो भएकाले पनि आन्तरिक पर्यटक पुग्ने गरेको सुनुवारको भनाइ छ । यस्तै सुटिङस्थलका रूपमा चर्चामा आएको पानीटारमा पनि पर्यटकको ओइरो लाग्ने गरेको छ । ‘मिनी कन्याम’का रूपमा विकास भइरहेको पानीटारमा चर्चित म्युजिक भिडियो ‘तीन पाते’को सुटिङ क्षेत्र हो । आँखा नबिझाउञ्जेल हेरिरहुँ लाग्ने, केही अग्लो र केही होचो चियाबारीले जिल्लाभित्रका पर्यटकलाई बढी तानेको छ ।

सुटिङ गर्ने बढे
म्युजिक भिडियोपछि ‘कृष्णलीला’ चलचित्र यो स्थानमा सुटिङ भयो । चलचित्रको सुटिङपश्चात झनै पर्यटकको उपस्थिति बाक्लिएको स्थानीय पर्यटनकर्मीको भनाइ छ । चलचित्रका लागि यो ठाउँको दृश्य खिचियो तर सामाजिक सञ्जालमा देखिन थालेपछि चलचित्र नसकी नै सोही क्षेत्र चर्चा आएको हो ।

वनभोजस्थलका रूपमा विकास भइरहेको पानीटारमा छुट्टीमा झण्डै २०० पर्यटक एकै दिन पुग्ने गरेका छन् । यो क्षेत्रमा अझै पनि व्यवस्थित खाने र बस्ने ठाउँको अभाव छ । यसैले पर्यटक लामो समय रहन सक्दैनन् तर पर्यटकको चहलपहल बढ्न थालेपछि भौतिक संरचनाको निर्माणमा लागेको पर्यटनकर्मी पासाङ शेर्पा बताउँछन् ।

यस्तै पछिल्लो समय कहलिएको पर्यटकीय क्षेत्र हो इलाम नगरपालिकाको पाटेनागी । उच्च पहाडी क्षेत्रमा पर्ने यो क्षेत्र हिमाल हेर्न र स्थानीय परिकार चाख्न बढी पर्यटक पुग्ने गरेका छन् । पाटेनागीको केही तलसम्म कच्ची सडक पुर्याएपछि त झनै पर्यटकको चहलपहल बाक्लिएको छ । दैनिक यो ठाउँमा १५ देखि २० आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ । भौतिक निर्माण (बाटो, अवलोकन गर्ने स्तम्भ)को अभावमा अझै केही पर्यटकीय क्षेत्रमा पुग्न सकस छ । जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्ने छिन्टापु, टोड्के झरनालगायतका सुन्दर पर्यटकीय क्षेत्र अझै पनि पर्यटकको प्रतीक्षामा छन् ।

टोड्के झरना जिल्लाकै अग्लो झरना हो तर झरनासम्म पुग्ने सडक अझै बनेको छैन । भिरालो जङ्गलको बाटो छिचोल्नै झरना पुग्न कष्टकर छ तर यसप्रति कसैको ध्यान गएको देखिँदैन ।

जिल्लाका योभन्दा साना झरना चर्चामा आए पनि टोड्के झरनामा ध्यान पुगेको छैन तर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा पालिका लागिरहेको बताए ।

यस्तै अर्को पर्यटकीय क्षेत्र छिन्टापु पनि हालसम्म गुमनाम छ । यो क्षेत्रमा पर्यटक होइन, स्थानीयवासी पनि पुग्न सकस छ । बाक्लो जङ्गलको कष्टकर बाटो हिँडेर जानुपर्ने भएकाले बाटो अल्मलिने समस्या ज्यादै धेरै हुन्छ ।

छिन्टापुको नजिक रहेको सन्दकपुरमा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । बिहान बेलुकै सन्दकपुरमा आन्तरिक मात्र नभई बाह्य पर्यटकको भने चहलपहल हुन्छ तर नजिकै रहेको यस्तै क्षेत्र छिन्टापु कसैको आँखामा पर्दैन । उच्च पहाडी तथा हिमाली क्षेत्रको समेत यस ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।