(कविता)
यतिवेला
म, मेरो राष्ट्र भित्रको कैदी बन्दी भएर
हराएको मान्छे,
थाहा छ, कानून मिच्नु हुन्न
कानून भन्दा म ठूलो पनि त होइन
खैर, म भित्रको अचम्मको त्राहिमाम छ
उकुसमुकुस छ,
माथि फक्ताङ्लुङ्मा भए हुन्थ्यो
तल केचनकवलमा भए हुन्थ्यो
यहि बेला सगरमाथाको टिप्पोबाट देशलाई
नियाल्न पाए हुन्थ्यो
हो, यतिवेला हराएको मान्छे म
हो नि !
पृथ्वीका मानवहरु तछाडमछाड गरि
वाच्न र बाचौं भन्दै वरपर कुदी राख्याछन्
एक छाक गर्जो टार्न सक्नेहरु
आफैभित्र पिडाले छट्पटिरहेका छन्
घरभित्रको कैदी जिवन विताईरहेका छन्
बरै यो कस्तो दिन,
कहिल्यै देख्न नपरोस् भनी
भगवानको नाम जप्दै होलान्
कोही पुर्पुरोमा हात राखेर भविष्यको कल्पना गर्दैछन्
कठै म र मेरो भविष्य अनि चिन्ताका थुप्रै चाङहरुमा
जिन्दगीहरु खोज्दै, विलासिन्दै
पृथ्वीभित्रका मानव वस्ती यतिवेला रुदैछ, छट्पटाईरहेछ
अब के हुने, भोलि के हुने रु
भोक प्यासलाई थाती राखेर भविष्य सोच्दैछन्
विचरा मानवहरु अदृश्य शत्रुसँग लड्दैछन्
तछाडमछाड गर्दै आफू भित्रको जिन्दगीलाई प्रश्न गर्दैछन्
हो, यतिवेला हराएको मान्छे म ।
कस्तो दुनियाँ
तिमीसँग लड्ने क्षमतामा पनि
प्रश्न चिन्ह भएर उभिन्नु परेको पीडा छ ।
ऊ बेलाका सपनाहरु यो बेलामा
कतै छट्पटिएका आत्मा भित्रका
अन्तरङ्गहरुमा स्वप्निल बनेर हराएको मान्छे म ।
हो, यतिवेला हराएको मान्छे म ।
dilkumar.lawati@gmail.com