कलाकार चार्ली चाप्लिनकोे प्रसिद्ध भनाइ छ, ‘म सधैँ झरीमा हिँड्न रुचाउँछु, किनभने म रोइरहेको कसैले देख्न सक्दैन ।’ तर, रियालिटी सो कमेडी च्याम्पियनको सेटमै रोइदिए शीर्ष तीनमा पर्न संघर्ष गरिरहेका कमेडियन विक्की अग्रवाल । उनले आँसुलाई लुकाउन खोजेको प्रस्टै देखिन्थ्यो, तर चाप्लिनले भनेजस्तो लुकाइहाल्न भने सकेनन् । आँखा छचल्किनुअघि अग्रवालले ‘पेन्टोमाइम’ प्रस्तुति दिएका थिए । सधैँ अस्थिर र अनेक आरोह–अवरोहबाट गुज्रिरहने मानिसको ‘मन’माथि उनको प्रस्तुति थियो । पृष्ठभूमिमा मोनोलग थियो, संगीतको धुन थियो । जोकरको भेषमा अनुहारको भाव र शरीरको हाउभाउ थियो । कमेडी थियो, तर कमेडी मात्रै थिएन ।
अग्रवालले हँसाएका पनि थिए, तर हँसाएका मात्रै थिएनन् । हाँस्यकलाकार किरण केसीले भने झैँ, ‘सबै हाँस्यकलाकारले हँसाउँछ भन्ने मात्रै हुँदैन, रुवाउँछ पनि ।’विशेष अतिथिका रूपमा सोमा आएका केसी अग्रवालको प्रस्तुतिसँगै ०३२ सालतिरको घटना सम्झन पुगे । जतिवेला स्वर्गीय श्यामदास वैष्णवद्वारा सिर्जित गीतिनाट्य ‘नवयुग’मा केसीले पनि ‘माइम’ गरेका थिए । विस्मृतिमा पुगेको स्मृतिलाई ताजगी दिँदै केसीले भने, ‘त्यो प्रस्तुति दर्शकले त्यति रुचाउनुभएन । तर, गोर्खापत्रले आधा पेज लेखेको थियो । मैले दश हजार ज्यादा स्टेज प्रस्तुति दिइसकेको छु । मैले आत्मकथा लेख्दा त्यसमध्ये नौ हजार तीन सय प्रस्तुति छुटाउँला, तर त्यो छुटाउन्नँ ।’
सधैँ अस्थिर र अनेक आरोह–अवरोहबाट गुज्रिरहने मानिसको ‘मन’माथि विक्कीको प्रस्तुति थियो । पृष्ठभूमिमा मोनोलग थियो, संगीतको धुन थियो । जोकरको भेषमा अनुहारको भाव र शरीरको हाउभाउ थियो । कमेडी थियो, तर कमेडी मात्रै थिएन ।
मिस्टर बिन नामक पात्रबाट प्रसिद्ध बनेका कमेडियन रोवन अट्किन्सन भन्छन्, ‘तर, म जे गर्छु, त्योभन्दा अझै राम्रो गर्छु भन्ने सधैँ लागिरहन्छ ।’ आफ्नो काममा सधैँ जोखिम उठाउने गर्छन् अट्किन्सन । विक्कीले कमेडी च्याम्पियनको स्टेजमा अट्किन्सनले भनेझैँ जोखिम उठाए । ‘केही भन्न सक्छु ?,’ प्रस्तुतिपछि अनुमति माग्दै विक्कीले भने, ‘मलाई जिरो प्रतिशत पनि पछुतो छैन पेन्टोमाइम गर्दा । यद्यपि, म सोबाट बाहिरिनु परे पनि परोस् ।’ भावुक भएर विक्कीले यसो भन्नुको पछाडि जजका रूपमा बसेका हास्यकलाकार सन्तोष पन्तको प्रतिक्रिया पनि कारक थियो भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् । पन्तले भनेका थिए, ‘हो, तिमीले नयाँ प्रयोग गर्यौ, बधाई छ । तर, हाम्रो समाजले अझै पनि यसलाई बुझ्दैन । मैले त बुझिनँ, अरूको के कुरा !’ पन्तले ‘मैले त बुझिनँ, अरूको के कुरा…’ भन्नुको तात्पर्य थियो– पन्तजत्तिको कलाकारले नबुझेको कमेडी आममानिसले त के बुझ्थे र !
कलाको बृहत् विस्तारमा ‘कमेडी’ एउटा सानो प्वाँख होला, तर प्वाँखको पनि आफ्नै फैलावट हुन्छ । एउटा चरा उड्न एउटा–एउटा प्वाँखको आफ्नै खाले भूमिका हुन्छ । आममानिस जस्तो चेतसहित बाँच्छन्, उनीहरूको बुझाइ जस्तो छ, त्यसलाई चिर्न पनि कलाको भूमिका हुने गर्छ । उनीहरू जे कुरामा रमाउँछन् त्यही देखाउनु मात्रै कलाको दायित्व पक्कै नहुन सक्छ । विक्कीको प्रस्तुतिमा पन्तले थपेको अर्को प्रतिक्रिया छ, ‘तिमीले यो प्रस्तुति देखायौ, तर कोही हाँसेनन् । कोही हाँस्नु भो ? कोही हाँसेनन् !’
खासमा, सस्ता र हल्का मजाकलाई मात्रै कमेडी मान्ने, दुईअर्थी शब्दहरूको खेलमा मात्रै ताली बजाउने प्रवृत्तिको विरुद्ध थियो विक्कीको प्रस्तुति । आफ्नै बुझाइ, चेतको विरुद्ध आएको प्रस्तुतिमाथि डटेर प्रतिरोध गरे पन्तले । पन्तको यही प्रतिरोधमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ । पन्तलाई सोबाट निकाल्नुपर्नेसम्मको माग उठिरहेको छ । कमेडीको बृहत्तर आयाममाथि पन्तको अध्ययनलाई लिएर प्रश्न उठिरहेको छ ।
प्राध्यापक राम लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पन्तको मात्रै कुरा होइन, कुनै पनि जजले विक्कीको कमेडीलाई सहज रूपले लिन नसकेको उनीहरूको अनुहारबाट बुझिन्थ्यो ।’ पन्तले मात्रै होइन, अरू जजले पनि ‘भोट नपाउने पर्फमेन्स किन गरिस्’ भन्ने आसयकै प्रतिक्रिया दिएको लोहनीको विश्लेषण छ । पन्तको सीधै भन्ने शैलीचाहिँ गलतै भएको र हाँस्यचेतबारे पन्तको भनाइमाथि तर्क गर्न सकिने उल्लेख गरेका छन् ।
के हो पेन्टोमाइम ?
‘पेन्टोमानइम’ को सुरुवात सोह्रौँ शताब्दीमा भएको हो । ‘पेन्टोमाइम’ मा कलाकारहरूले संवादहरूमार्फतभन्दा पनि शारीरिक हाउभाउ, अनुहारको भावबाट प्रस्तुति दिन्छन् । साथमा संगीत, संवाद र दर्शकको प्रत्यक्ष उपस्थिति हुन्छ । विभिन्न उत्सवमा मनोरञ्जनका लागि यसको निकै प्रयोग हुने गर्छ ।
अब प्यारोडी र थेगोले हाँस्यव्यंग्य धान्दैन : गजुरेल
कमेडी च्याम्पियनकै जज मनोज गजुरेल भने सबै प्रकारको कलालाई स्वीकार्नुपर्ने तर्क पेस गर्छन् । ‘यदि कलामै जाने हो भने हिजो हाँस्यव्यंग्यमा प्रहसन हुन्थे । गेटअपसहितको क्यारिकेचरको सुरुवात हामीले गर्यौँ । हिजो प्यारोडी, थेगोहरूको एउटा युग थियो । तर, मान्छेले नयाँ–नयाँ कन्टेन्ट खोजिरहेका छन्,’ विक्कीले नयाँ स्वाद र कन्टेन्ट प्रस्तुत गरेको भन्दै गजुरेल भन्छन्, ‘कलामा प्रगतिशीलता खोज्ने हो भने हिजोकै दिनमा मात्रै अल्झनु भएन ।’ कलाको थुप्रो फम्र्याट संसारमा अस्तित्वमा रहेकाले त्यसलाई स्वीकार्नुपर्ने गजुरेलको भनाइ छ । उनी थप्छन्, ‘अस्कर विजेता सिनेमा हेर्यौँ भने त्यो भिडका लागि हुँदैनन् । त्यहाँ ठूलो तालीको गडगडाहट हुँदैन । कमेडीमा हँसाउन सक्नु एउटा पाटो हो । तर, कसैले कम हँसाउँछ र ठूलो म्यासेज दिन्छ भने त्यो पनि कमेडी नै हो ।’
यदि कलामै जाने हो भने हिजो हाँस्यव्यंग्यमा प्रहसन हुन्थे । गेटअपसहितको क्यारिकेचरको सुरुवात हामीले गर्यौँ । हिजो प्यारोडी, थेगोहरूको एउटा युग थियो । तर, मान्छेले नयाँ–नयाँ कन्टेन्ट खोजिरहेका छन् । कलामा प्रगतिशीलता खोज्ने हो भने हिजोकै दिनमा मात्रै अल्झनु भएन ।
नेपालको कमेडी गाइजात्रे कार्यक्रम, प्रहसन, प्यारोडी, क्यारिकेचर गर्दै अगाडि बढेकाले पनि नयाँ–नयाँ प्रयोग, विधालाई स्वीकार गरिहाल्न नसकेको बताउँछन् निर्देशक दीपेन्द्र लामा । ‘छ माया छपक्कै’मा कमेडीलाई पनि पस्किएका लामा भन्छन्, ‘अपांग, मधेसीलाई होच्याउने कमेडी थियो केही समयअघि । टँ टँ, म टँ गरेर नेवारलाई उडाउँथे । त्यसमा अलि सुधारचाहिँ भएको हो, तर पर्याप्त अझै छैन ।’ तर, सन्तोष पन्त पुरानो पुस्ताको कलाकारको प्रतिनिधि भएकाले आफूलाई मन पर्यो भन्नचाहिँ पाउने तर्क राख्छन् लामा । भन्छन्, ‘मलाई मन परेन भन्न पाइयो । तर, तपाईंको प्रस्तुति समाजले मन पराउँदैन भनेर ठेक्का लिनचाहिँ पाइएन । दर्शकको ठेक्का लिन पाइएन । दर्शक सबै एक किसिमका मात्रै हुँदैनन् ।’
विक्कीको प्रस्तुतिमा अभिनेत्री तथा जज ऋचा शर्माले आफूले युरोपमा पढ्दा माइन पढेको भन्दै प्रतिक्रिया दिएकी थिइन्, ‘माइन भनेको इमोसन, बडी ल्यांग्वेज, ह्यान्ड जेस्चरहरू हो ।’ उनले आउने धेरै सिजनका लागि विक्की उदाहरण रहेको पनि बताइन् । सोह्रौँ शताब्दीमा सुरुवात भएको ‘पेन्टोमाइम’ कलाकारहरूले संवादहरूमार्फतभन्दा पनि शारीरिक हाउभाउ, अनुहारको भावबाट प्रस्तुति दिन्छन् । साथमा संगीत, संवाद र दर्शकको प्रत्यक्ष उपस्थिति पनि हुन्छ । आयरल्यान्ड, बेलायततिर क्रिसमस र नयाँ वर्षको उत्सवमा मनोरञ्जनका लागि निकै प्रयोग हुने गर्छ ।