
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ । हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।
अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।
अहिलेको आधूनिक यूगमा र यस यूगले गर्नेखालका तर्कमा आधारीत रहेर पुराना संस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि बढ्ने ति हरेक पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत् पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिएको छ ।
हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाउँमा भेलाभई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।
यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनौ साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।